होर्मुज जलसन्धिलाई लक्षित गरी इरानमाथि अमेरिकाको दोस्रो चरणको भीषण हवाई आक्रमण

होर्मुज जलसन्धिलाई लक्षित गरी इरानमाथि अमेरिकाको दोस्रो चरणको भीषण हवाई आक्रमण

एजेन्सी । अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रल कमाण्ड) ले इरानविरुद्ध नयाँ चरणको शक्तिशाली हवाई आक्रमण सुरु गरेको जानकारी दिएको छ। सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, बुधबार दिउँसो पूर्वी समय अनुसार ३ बजे अमेरिकी सेनाले इरानमाथि दोस्रो चरणको सैन्य कारबाही सुरु गरेको हो।

यो पछिल्लो आक्रमण विशेष गरी रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको होर्मुज जलसन्धि भएर आवतजावत गर्ने व्यावसायिक तथा व्यापारिक जहाजहरूका लागि सुरक्षा खतरा बनेका इरानी सैन्य क्षमता र संरचनाहरूलाई लक्षित गरी केन्द्रित गरिएको अमेरिकी सेनाले जनाएको छ।

यसअघि सोही दिन बुधबार बिहान ६ बजेदेखि सुरु भएको ९० मिनेट लामो पहिलो चरणको भीषण आक्रमणका क्रममा अमेरिकी वायुसेनाले ग्रेटर टुनब टापुलाई निशाना बनाएको थियो।

त्यहाँ अवस्थित इरानको तटीय रक्षा प्रणाली, क्रुज मिसाइल भण्डारण गृह र मिसाइल प्रक्षेपण स्थलहरूमा 'प्रिसिजन म्युनेसन्स' अर्थात् सटिक निशाना लगाउने आधुनिक हतियारहरू प्रयोग गरेर भारी प्रहार गरिएको दाबी गरिएको छ।

इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी पुनः सुरु गरेसँगै संयुक्त राज्य अमेरिकाले मंगलबारदेखि नै इरानमाथि एकपछि अर्को गर्दै शृङ्खलाबद्ध हवाई आक्रमण गरिरहेको छ।

मंगलबार राति अमेरिकी सेनाले करिब सात घण्टासम्म लगातार सञ्चालन गरेको व्यापक सैन्य कारबाहीमा होर्मुज जलसन्धि र इरानी तटीय क्षेत्र नजिकै रहेका मिसाइल तथा ड्रोन साइट, नौसैनिक युद्धक क्षमता र तटीय रक्षा प्रणाली लगायत दर्जनौँ महत्त्वपूर्ण सैन्य लक्ष्यहरू ध्वस्त पारेको दाबी गरेको छ। अमेरिकाको यो आक्रामक कदमले मध्यपूर्वमा ठूलो भूराजनीतिक हलचल पैदा गरेको छ।

छुटाउनुभयो कि ?