हर्मुज जलघाँटीमा इरानको नाकाबन्दी कायमै, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य बेसमा हमला भएको पुष्टि

हर्मुज जलघाँटीमा इरानको नाकाबन्दी कायमै, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य बेसमा हमला भएको पुष्टि

तेहरान । इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले संयुक्त राज्य अमेरिकाले आफ्ना ‘आक्रमणकारी गतिविधि’ पूर्ण रूपमा अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हर्मुज जलघाँटी बन्द रहने चेतावनी दिएको छ।

आईआरजीसीले अमेरिकाको हित र सुरक्षासँग जोडिएका खाडी क्षेत्रका अन्य तेल तथा ग्यास निर्यात मार्गहरू पनि आफ्नो सैन्य निशानामा पर्न सक्ने स्पष्ट पारेको हो। गत फेब्रुअरीको अन्त्यदेखि जारी अमेरिका–इरान सैन्य द्वन्द्वका कारण खाडी क्षेत्रबाट हुने तेल तथा ग्यास ढुवानीमा गम्भीर असर परिरहेका बेला इरानको यो पछिल्लो चेतावनीले अन्तर्राष्ट्रिय ऊर्जा बजार र वैश्विक राजनीतिमा थप चिन्ता एवं तरंग पैदा गरिदिएको छ।

इरानी सरकारी टेलिभिजन आईआरआईबीका अनुसार आईआरजीसीले हालैका अमेरिकी हवाई आक्रमणहरूको कडा प्रत्युत्तर दिँदै बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य सुविधाहरूमाथि आक्रमण गरिएको पुष्टि गरेको छ। त्यससँगै वासिङ्टनको आर्थिक तथा रणनीतिक हितसँग सम्बन्धित समुद्री ऊर्जा मार्गहरू अब थप जोखिममा पर्ने चेतावनी इरानले दिएको छ।

आईआरजीसीद्वारा जारी आधिकारिक विज्ञप्तिमा अमेरिकाले खाडी क्षेत्रमा गर्ने समुद्री गतिविधिमार्फत विश्वव्यापी तेल तथा ग्यास आपूर्ति शृङ्खलामा नकारात्मक प्रभाव पार्न खोजेको आरोप लगाइएको छ। यसको प्रतिशोधस्वरूप अमेरिका र उसका सहयोगी राष्ट्रहरूले प्रयोग गर्ने अन्य वैकल्पिक ऊर्जा निर्यात मार्गहरू समेत जुनसुकै बेला अवरुद्ध पारिदिने इरानको धम्की छ, यद्यपि ती मार्गहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

इरानी सैन्य कमाण्डले ‘यस क्षेत्रबाट हुने तेल र ग्यास निर्यात या त सबैका लागि सहज हुनेछ वा कसैका लागि पनि हुनेछैन’ भन्ने कडा रणनीतिक अडान अघि सारेको छ। आईआरजीसीले अमेरिका रक्षात्मक स्थितिमा नआएसम्म र आफ्ना सैन्य गतिविधिबाट पछि नहटेसम्म हर्मुज जलघाँटीमा लगाइएको नाकाबन्दी र प्रतिकारात्मक कारबाही निरन्तर जारी रहने स्पष्ट पारेको छ।

अर्कोतर्फ, अमेरिकी अधिकारीहरूले भने हर्मुज जलघाँटीजस्तो संवेदनशील अन्तर्राष्ट्रिय मार्गमा पूर्ण नियन्त्रण कायम गर्ने इरानको दाबी र क्षमतालाई अस्वीकार गरेका छन्। पेन्टागन र अमेरिकी रक्षा मन्त्रालयले इरानी धम्कीको काउन्टर गर्दै अन्तर्राष्ट्रिय समुद्री ढुवानी मार्गहरूलाई नागरिक र व्यापारिक प्रयोजनका लागि खुला राख्न अमेरिका र उसका मित्रराष्ट्रहरूले आवश्यक पर्ने सबै सैन्य तथा रणनीतिक कदम चाल्ने दाबी गरिरहेका छन्। दुवै देश आ-आफ्नो अडानमा अडिग रहँदा विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा ओगट्ने खाडी क्षेत्र युद्धको सङ्घारमा पुगेको छ।

छुटाउनुभयो कि ?