सञ्चार गृहमा सवारीसाधन तेर्स्याएर अवरोध गरेको घटनाप्रति रास्वपा नेता मनिष झाको आपत्ति, निष्पक्ष अनुसन्धानको माग

सञ्चार गृहमा सवारीसाधन तेर्स्याएर अवरोध गरेको घटनाप्रति रास्वपा नेता मनिष झाको आपत्ति, निष्पक्ष अनुसन्धानको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले सञ्चार गृह तथा अन्य सार्वजनिक स्थानहरूमा सवारीसाधन राखेर नागरिक आवगमन र कार्यसम्पादनमा अवरोध सिर्जना गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सञ्चार गृह र सडक जस्ता संवेदनशील स्थानमा गाडी तेर्स्याएर अवरोध गर्ने कार्य पूर्ण रूपमा गलत र निन्दनीय भएको बताएका हुन्।

नेता झाले यस्तो उच्छृङ्खल गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूमाथि तत्काल निष्पक्ष अनुसन्धान गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

नेता झाले राज्यको मूल दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु र उनीहरूको चिन्ता एवं समस्याको सम्बोधन गर्नु रहेको उल्लेख गरेका छन्।

नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने राज्य संयन्त्र वा जिम्मेवार निकायले उल्टै नागरिकलाई थप त्रसित र आतंकित बनाउने खालका काम गर्नु कुनै पनि हालतमा स्वीकार्य नहुने उनको तर्क छ। सडक र निषेधित क्षेत्रहरूमा प्रदर्शनका नाममा गरिने यस्ता अराजक गतिविधिले लोकतान्त्रिक मूल्य-मान्यता र कानुनी शासनको उपहास गर्ने उनले स्पष्ट पारेका छन्।

आफ्नो आधिकारिक सामाजिक सञ्जालको स्टाटसमा नेता झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको ठहर गर्दै यसमा जो-जो संलग्न छन्, उनीहरूमाथि तत्काल अनुसन्धान र कारबाही हुनुपर्ने अडान दोहोर्‍याएका छन्।

राज्यले नागरिकको चिन्ता निराकरण गर्नुपर्नेमा आफैंले थप आतंकित बनाउने वातावरण सिर्जना गर्न नहुने भन्दै उनले विधिको शासन कायम राख्न सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने जोड दिएका छन्। पछिल्लो समय सडक र विभिन्न प्रतिष्ठान अगाडि सवारीसाधन तेर्स्याएर चक्काजाम गर्ने प्रवृत्ति बढ्दै गएपछि रास्वपाका तर्फबाट यस्तो आधिकारिक धारणा बाहिर आएको हो।

छुटाउनुभयो कि ?