सिंहदरबार अगाडि एमाले निकट विद्यार्थीहरूको प्रदर्शन, अनेरास्ववियुका अध्यक्षसहित ६ जना हिरासतमा

सिंहदरबार अगाडि एमाले निकट विद्यार्थीहरूको प्रदर्शन, अनेरास्ववियुका अध्यक्षसहित ६ जना हिरासतमा

काठमाडौँ । निषेधित क्षेत्र मानिने सिंहदरबारको दक्षिण गेट अगाडिको व्यस्त सडकमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आकस्मिक चक्काजाम र प्रदर्शन गरेको छ।

मुलुकमा राज्य आतंक बढेको, विधिको शासन मिचिएको र गरिबको आवाज दबाइएको भन्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको हो। प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित ६ जना उच्च तहका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरूले सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडिको सडकको बीचभागमै आफ्ना मोटरसाइकलहरू तेर्स्याएर पार्किङ गरी आकस्मिक रूपमा सडक ठप्प पारेका थिए।

'गरिबको आवाज दबाउन पाइँदैन' र 'राज्य आतंक बन्द गर' जस्ता नारा लेखिएका प्लेकार्डसहित सडकमा उत्रिएका विद्यार्थीहरूको यो शैलीका कारण सिंहदरबार र आसपासको क्षेत्रमा केहीबेर यातायात सेवा पूर्ण रूपमा प्रभावित बनेको थियो। निषेधित क्षेत्रमा प्रदर्शन हुनासाथ तत्कालै खटिएको प्रहरी टोलीले बल प्रयोग गरी सडकबाट प्रदर्शनकारी र सवारीसाधन हटाएर यातायात सुचारु गराएको थियो।

यातायात अवरुद्ध पारेको र निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा प्रहरीले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष जितप्रसाद सिटौला, केन्द्रीय सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी र कानुन राष्ट्रिय कमिटीका सचिव सुदीप थापालाई पक्राउ गरेको छ।

पक्राउ परेका विद्यार्थी नेताहरूलाई हिरासतमा राखिएको छ भने सिंहदरबार वरपरको सुरक्षा व्यवस्थालाई थप चुस्त बनाइएको छ। अनेरास्ववियुले भने प्रहरी दमनको विरोध गर्दै आफ्ना नेताहरूको विनासर्त रिहाइ नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।

छुटाउनुभयो कि ?