मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सरकारलाई सभामुखको निर्देशन

मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सरकारलाई सभामुखको निर्देशन

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै देशभर बढ्दै गएका बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाहरूबाट हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको प्रारम्भमा बोल्दै सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्न र देशभर सुरक्षित सवारी आवागमनको भरपर्दो व्यवस्था मिलाउन नेपाल सरकारलाई विशेष निर्देशनात्मक आग्रह गरे।

यस वर्ष मनसुनको सुरुआतमै विपद्का घटनाहरू तीव्र रूपमा बढ्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै सभामुख अर्यालले यस्ता प्राकृतिक प्रकोपका कारण नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने र ठूलो भौतिक नोक्सानी बेहोर्नुपर्ने अवस्था आउन नदिन राज्यका सम्पूर्ण संयन्त्रहरू पूर्वतयारीका साथ तयारी अवस्थामा रहनुपर्ने स्पष्ट पारे।

उनले विपद्का समयमा तत्काल खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र राजमार्गहरू अवरुद्ध हुँदा अलपत्र पर्ने यात्रुहरूको सुरक्षाका लागि सुरक्षित सवारी आवागमनको उचित प्रबन्ध मिलाउन सरकारलाई झकझकाए।

छुटाउनुभयो कि ?