काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकारमाथि निरंकुशताको बाटोतर्फ उन्मुख भएको आरोप लगाउँदै नागरिकका प्रश्नहरू सुन्न र संविधानको सीमाभित्र रहेर कार्य सम्पादन गर्न आग्रह गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले भागवत पुराणको प्रख्यात पौराणिक प्रसंग हिरण्यकश्यप र प्रह्लादको उदाहरण प्रस्तुत गर्दै प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने जुनसुकै प्रवृत्ति लोकतन्त्रका लागि निकै खतरनाक हुने धारणा राखे।
हिरण्यकश्यपले आफूलाई सर्वशक्तिमान् ठान्दै आफ्नो राज्यमा अरू कसैलाई ईश्वर मान्न बन्देज लगाएको र आफ्नै छोरा प्रह्लादले सत्य बोल्दा वा प्रश्न गर्दा त्यसैलाई अपराध ठानिएको प्रसंग जोड्दै उनले प्रश्न गर्नुलाई अपराध मान्ने शासन व्यवस्था इतिहासमा अन्ततः पतन भएरै छाड्ने दाबी गरे। विगतमा सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको युवा आन्दोलनलाई स्मरण गराउँदै उनले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सडकमा उत्रिएका युवाहरूलाई अहिले वर्तमान सरकारले नै प्रश्न गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाए।
सांसद राईले मुगुका २५ वर्षीय राइड–सेयरिङ चालक गणेश नेपालीको दुखद मृत्यु प्रकरणमा सरकारले गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए। महानगरको नगरप्रहरीसँगको विवाद र तनावपछि काठमाडौँको सडकमा ती युवाले आत्मदाह गरेको हृदयविदारक घटनापछि सरकारमाथि प्रश्न उठ्नु एकदमै स्वाभाविक भएको उनको भनाइ थियो।
एउटा नागरिकले निराशामा ज्यान गुमाउँदा राज्यले आफ्ना कमजोरी सुधार्नुको साटो उल्टै प्रश्न उठाउने प्रतिपक्ष, सञ्चारमाध्यम र नागरिक समाजमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै उनले आपत्ति जनाए। प्रश्न सोध्ने हिम्मत कहाँबाट आयो भन्ने शैलीमा राज्य संयन्त्र प्रतिशोध साध्न उत्रिएको भन्दै उनले गृहमन्त्रीले संसद्मा जवाफ दिने क्रममा अत्यधिक भावनात्मक हुँदै सांसदहरूमाथि नै धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै त्यसप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।
सदनमा सरकारको पक्षमा रहेको अंकगणितलाई औँल्याउँदै सांसद राईले संसद्मा १८२ सिटको बहुमत हुँदैमा सरकारलाई संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि छुट वा विशेषाधिकार प्राप्त नहुने प्रष्ट पारे।
बहुमत जनताको सेवा र प्रतिनिधित्वका लागि भएको भन्दै त्यसले नागरिकको नैसर्गिक अधिकार कुल्चन र प्रश्न सोध्ने आम जनताको मुख थुन्ने ठेक्का नदिने उनको तर्क थियो। राज्यका महत्त्वपूर्ण सुरक्षा र प्रशासनिक संरचनाहरू पछिल्लो समय सत्तारूढ दल र अनौपचारिक शक्तिको सीधा प्रभाव तथा निर्देशनमा चल्न थालेको भन्दै उनले यस्तो प्रवृत्तिले राज्य र सत्ताबीचको लक्ष्मणरेखा नै मेटिने खतरा औँल्याए।
आफू एउटा किसान परिवारबाट आएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आफू सधैँ अडिग रहने प्रतिबद्धताका साथ सांसद राईले सरकारलाई निरंकुशताको बाटो त्यागेर नागरिक केन्द्रित भई अघि बढ्न सुझाव दिए।