वासिङ्टन / तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सैन्य कारबाहीपछि इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका छोरा मोजताबा खमेनी ‘९० प्रतिशत निष्क्रिय’ भएको दाबी गर्दै इरानको शीर्ष सैन्य नेतृत्व लगभग समाप्त भइसकेको बताएका छन्।
अमेरिकाले रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटीमा पुनः समुद्री नाकाबन्दी लागू गर्ने र त्यहाँबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने घोषणा गरेसँगै राष्ट्रपतिको यो दाबी सार्वजनिक भएको हो।
फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीले इरानको रक्षा संरचना, नौसैनिक र वायु शक्ति, हवाई प्रतिरक्षा प्रणाली तथा सैन्य नेतृत्वको ठूलो हिस्सा नष्ट गरिदिएको उल्लेख गरेका छन्।
राष्ट्रपति ट्रम्पले इरानका प्रमुख रणनीतिक सैन्य कमान्डरहरू कारबाहीका क्रममा मारिएको दाबी गर्दै सर्वोच्च नेता अली खमेनीको पनि गत फेब्रुअरीको अन्त्यतिर भएको अमेरिका–इजरायलको हवाई आक्रमणमा मृत्यु भइसकेको दाबी दोहोर्याएका छन्।
खमेनीका छोरा मोजताबा खमेनी पनि उक्त सैन्य अभियानमा लागेको गम्भीर चोटका कारण उपचाररत रहेको र यसै महिनाको सुरुमा इरान तथा इराकमा आयोजित सार्वजनिक अन्त्येष्टि कार्यक्रममा अनुपस्थित रहेको उनले बताए। अमेरिका र इरानबीच सप्ताहन्तमा पुनः मिसाइल आक्रमण आदानप्रदान भएर क्षेत्रीय तनाव थप चर्किएकै बेला यी अभिव्यक्तिहरू बाहिर आएका हुन्।
यसैबीच, ट्रम्पले अमेरिकाले ‘इरानी नाकाबन्दी’ पुनः लागू गर्ने तथा हर्मुज जलघाँटीको सुरक्षा सुनिश्चित गर्न व्यापारिक जहाजबाट शुल्क असुल्ने नीति अघि बढाएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै उनले अब अमेरिका ‘हर्मुज जलघाँटीको संरक्षक’ को भूमिकामा रहने र इरानी जहाज तथा इरानसँग सम्बन्धित कार्गोको आवतजावत रोक्ने स्पष्ट पारेका छन्।
अन्य मुलुकलाई जलमार्गको स्वतन्त्र प्रयोग गर्न दिने उल्लेख गर्दै ट्रम्पले उक्त जलघाँटी प्रयोग गर्ने सबै अन्तर्राष्ट्रिय कार्गोबाट मूल्यको २० प्रतिशत बराबर प्रतिपूर्ति शुल्क उठाउने प्रस्ताव गरेका छन्। रणनीतिक समुद्री मार्गको सुरक्षा खर्च अन्तर्राष्ट्रिय व्यापारिक साझेदारहरूले पनि व्यहोर्नुपर्ने उनको तर्क छ।
अर्कोतर्फ, इरानका विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पको उक्त प्रस्तावलाई तत्कालै अस्वीकार गर्दै हर्मुज जलघाँटीको सुरक्षा गर्ने ऐतिहासिक र कानूनी जिम्मेवारी इरानकै रहेको प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमार्फत ट्रम्पले प्रस्ताव गरेको २० प्रतिशत शुल्क अत्यधिक भएको टिप्पणी गर्दै उनले इरानले यस मार्गमा निष्पक्ष रूपमा काम गर्ने बताएका छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण मानिने यस समुद्री मार्गको नियन्त्रण, सुरक्षा र समुद्री आवागमनलाई लिएर अमेरिका र इरानबीच आरोप–प्रत्यारोप तीव्र बन्दै जाँदा दुवै पक्षले आ–आफ्नो दाबीलाई अझ आक्रामक रूपमा प्रस्तुत गरिरहेका छन्।