रौतहट । फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी एवं युवा नेता विजय यादवले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
एक श्रद्धाञ्जली सन्देश जारी गर्दै नेता यादवले शोकको यस संवेदनशील घडीमा मृतकको सम्मान गर्न र घटनालाई राजनीतिक दाउपेचको विषय नलिन सबै पक्षसँग आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो अपिल गरेका हुन्।
उपचारमा गृहमन्त्रीको सक्रियताको प्रशंसा
नेता यादवले नेपालीको उपचारका क्रममा गृहमन्त्री सुदन गुरुङले देखाएको तदारुकता र अभिभावकीय भूमिकाको प्रशंसा समेत गरेका छन्।
"उपचारका क्रममा गृहमन्त्री स्वयं अस्पताल पुगेर पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहनुभएको थियो। उपचारमा कुनै कसर बाँकी नराख्न उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै आवश्यक परे थप उपचारका लागि दिल्ली लैजाने तयारी समेत गर्नुभएको थियो," यादवले उल्लेख गरेका छन्, "तर, अथक प्रयासका बाबजुद पनि नेपालीलाई बचाउन नसकिनु अत्यन्तै पीडादायी र दुःखद कुरा हो।"
राजनीतिक लाभहानिभन्दा सद्भाव र संवेदनाको खाँचो
कुनै पनि नागरिकको दुःखद मृत्युलाई राजनीतिक स्वार्थ पूर्तिका लागि प्रयोग गरिनु निन्दनीय भएको यादवको भनाइ छ। अहिलेको आवश्यकता आरोप-प्रत्यारोप नभई पीडित परिवारलाई ढाडस र सहानुभूति दिनु रहेको उनले प्रष्ट पारेका छन्।
उनले सम्पूर्ण नागरिक तथा राजनीतिक दलहरूलाई संयमित रहँदै मृतकप्रति श्रद्धाभाव व्यक्त गर्न, शोकाकुल परिवारको दुःखमा सारथि बन्न र समाजमा आपसी सद्भाव कायम राख्न विशेष आग्रह गरेका छन्।