राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको पशुपति आर्यघाटमा दाहसंस्कार

राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको पशुपति आर्यघाटमा दाहसंस्कार

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा निधन भएका काठमाडौंका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

वीर अस्पतालमा उपचार गराइरहेका नेपालीको गत शुक्रबार मृत्यु भएको थियो। घटनालाई लिएर पीडित परिवार र सरकार पक्षबीच आइतबार विभिन्न बुँदामा सम्झौता भएपछि मात्र परिवारले सोमबार शव बुझेर पशुपति आर्यघाट पुर्‍याई दाहसंस्कार गरेका हुन्।

गएको असार २५ गते राहदानी विभागअगाडि पार्किङ गरी राखिएको नेपालीको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले ह्विल लक (गाडी चक्कामा लगाइने ताला) लगाइदिएको थियो। सोही विषयलाई लिएर असन्तुष्ट र आक्रोशित बनेका उनले त्यहीँ आत्मदाहको प्रयास गरेका थिए।

शरीरको अधिकांश भाग जलेका उनको तत्कालै उद्धार गरी वीर अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा शुक्रबार उनले अन्तिम सास फेरेका थिए। सरकार र परिवारबीच भएको सहमतिको विस्तृत विवरण औपचारिक रूपमा सार्वजनिक नभए पनि सम्झौतापछि परिवारले शव बुझ्न सहमति जनाएका हुन्।

छुटाउनुभयो कि ?