सञ्चारगृहपछि कांग्रेस महामन्त्री गगन थापाको निवास अगाडि पनि गाडी तेर्स्याएर अवरोध

सञ्चारगृहपछि कांग्रेस महामन्त्री गगन थापाको निवास अगाडि पनि गाडी तेर्स्याएर अवरोध

काठमाडौं । राजधानीका प्रमुख सञ्चारगृहहरूमा सवारी साधन तेर्स्याएर अवरोध सिर्जना गरिएको केही समयमै नेपाली कांग्रेसका महामन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता गगनकुमार थापाको निवास अगाडि पनि त्यसरी नै गाडी तेर्स्याइएको छ।

सोमबार बिहान करिब ७ बजे काठमाडौंको रातोपुलस्थित महामन्त्री थापाको घरको मुख्य ढोका नै थुनिने गरी गाडी राखिएपछि त्यहाँको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। गाडीलाई यसरी राखिएको छ कि घरभित्रबाट मोटरसाइकलसमेत निकाल्न नमिल्ने स्थिति सिर्जना भएको छ।

चालक प्रहरीकै भ्यानमा चढेर हिँडेको दाबी

स्थानीय प्रत्यक्षदर्शीका अनुसार थापाको निवास अगाडि गाडी तेर्स्याएर छाड्ने चालक त्यसलगत्तै नजिकै तयारी अवस्थामा रहेको नेपाल प्रहरीको भ्यानमा चढेर हिँडेका थिए। गाडी छाड्ने व्यक्ति प्रहरीकै सवारी साधनमा रोहबर रहकर बाहिरिएपछि स्थानीयबासीहरू सो गाडी हटाउन हच्किएका छन्। यस रहस्यमय घटनाबारे प्रहरी प्रशासनले भने हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

सञ्चारगृह र राजनीतिक नेतामाथि एकैसाथ निशाना

सोमबार बिहानै राजधानीका तीन ठूला सञ्चारगृहहरू— तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबरको कार्यालय गेटमा पनि यसै गरी नियोजित रूपमा गाडी तेर्स्याइएको थियो। सञ्चारगृहको दैनिक कार्य सञ्चालन र पत्रकारहरूको आवागमन नै प्रभावित पार्ने गरी राखिएका ती गाडीहरूलाई पछि प्रहरीले क्रेनको सहायताले हटाएको थियो।

चौतर्फी विरोध र गम्भीर प्रश्न

एकै दिन प्रमुख राजनीतिक दलका प्रभावशाली नेताको निवास र मुख्य सञ्चारमाध्यमहरूलाई लक्षित गरी गरिएको यस किसिमको शृङ्खलाबद्ध र नियोजित अवरोधलाई लिएर यतिबेला गम्भीर सुरक्षा प्रश्न उठेको छ। प्रमुख सत्तारुढ दल नेकपा एमाले लगायत विभिन्न राजनीतिक पक्ष र नागरिक समाजले सञ्चारमाध्यम तथा जनप्रतिनिधिमाथिको यस्तो अवरोधलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यतामाथिको प्रहार भन्दै घटनाको तीव्र निन्दा र विरोध गरिरहेका छन्।

छुटाउनुभयो कि ?