विभाजनको डिलमा नेपाली कांग्रेस: साउनभित्रै राष्ट्रिय भेलाको तयारी, गगन थापाको मौनताले देउवा समूह निराश

विभाजनको डिलमा नेपाली कांग्रेस: साउनभित्रै राष्ट्रिय भेलाको तयारी, गगन थापाको मौनताले देउवा समूह निराश

काठमाडौँ । विगत ६ महिनादेखि तीव्र आन्तरिक विवादको भुमरीमा फसेको मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस अन्ततः औपचारिक विभाजनको सङ्घारमा पुगेको छ।

गत पुस महिनामा सम्पन्न विशेष महाधिवेशनपछि चर्किएको संस्थापन र संस्थापनइतर समूहबीचको विवाद साम्य हुनुको सट्टा झन् बल्झिँदै गएको हो। शीर्ष नेताहरूले सार्वजनिक रूपमा पार्टी एकताको दुहाई दिए पनि भित्री रूपमा सहकार्य असम्भव प्रायः बन्दै गएको दुवै पक्षका नेताहरूले अनौपचारिक संवादमा स्वीकार गर्न थालेका छन्। हालसम्म विभाजनको औपचारिक प्रस्ताव नआए पनि दुवै समूहले समानान्तर रूपमा आफ्ना साङ्गठनिक गतिविधि र अभ्यासलाई तीव्र बनाएका छन्।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन असन्तुष्ट इतर पक्ष लचिलो देखिए पनि विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका सभापति गगनकुमार थापाले कुनै ठोस र सकारात्मक प्रतिक्रिया नदिँदा इतर समूहका नेताहरू गम्भीर रूपमा निराश बनेका छन्। नियमित महाधिवेशनको वकालत गर्दै आफ्ना अडानमा कायम रहेका नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाको प्रस्तावमा संस्थापन पक्षले पूर्ण उदासीनता देखाएपछि दुई समूह मिल्ने छाँटकाँट देखिएको छैन।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरिरहनुभएका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूसँग पार्टी ९० प्रतिशत विभाजन भइसकेको बताउन थाल्नुभएको छ। केही दिनअघि इतर समूहका नेता एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समेत एक सार्वजनिक कार्यक्रममा कांग्रेस विभाजन भइसकेको घोषणा गरेका थिए।

पछिल्लो समय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा बेग्लै सम्पर्क कार्यालय खोलेर निरन्तर राजनीतिक छलफल र भेलाहरू गर्दै आएको छ। उक्त समूहका नेता मीनबहादुर विश्वकर्माले सामाजिक सञ्जालमा चर्चामा रहेजस्तो इतर समूहका लागि बेग्लै झण्डा र चुनाव चिह्न तयार पारिनसकेको स्पष्ट पारेका छन्।

उनले सामाजिक सञ्जालमा भाइरल भएको झण्डा ऐतिहासिक २००७ सालको क्रान्तिको भएको उल्लेख गर्दै तत्काल नयाँ झण्डा र चुनाव चिह्नबारे नसोचेको तर सानेपा (कांग्रेस केन्द्रीय कार्यालय) ले उदासीनता देखाए बाहिर रहेका कांग्रेसहरूले विकल्प खोज्ने चेतावनी दिएका छन्।

पार्टीलाई बलियो बनाउन योगदान पुर्‍याएका नेताहरूलाई सँगै लैजानुपर्ने र विभाजनअघि मेलमिलापको अन्तिम प्रयास स्वरूप छलफल भइरहेको विश्वकर्माको भनाइ छ। यसअघि गत जेठ १६ गते उपसभापति विश्वप्रकाश शर्माले पठाएको सहमति प्रस्ताव, डा. शेखर कोइरालाको पाँचबुँदे र पूर्वकार्यवाहक सभापति खड्काको आठबुँदे प्रस्तावमाथि संस्थापन पक्षले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यही असार २२ देखि २४ गतेसम्म बसेको इतर समूहको बैठकमा अधिकांश नेता–कार्यकर्ताले शीर्ष नेताहरूलाई वैकल्पिक मार्ग अर्थात् नयाँ दल गठनको ‘रोडम्याप’ तय गर्न सुझावसहितको जिम्मा दिइसकेका छन्।

यसैबीच, राजनीतिक वृत्तमा संस्थापनइतर समूहका नेताहरूबीच विराटनगरमा भएको छलफललाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। बीपी स्मृति दिवस कार्यक्रम तयारीको जिम्मा पाउनुभएका निवर्तमान पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले असार २७ गते विराटनगरस्थित कोइराला निवास पुगेर डा. शेखर कोइरालासँग संवाद गरेका छन्।

उपसभापति विश्वप्रकाश शर्माले डा. कोइरालासँग भेटेर विवाद मिलाउन असार २५ गतेसम्मको समय सीमा दिनुभए पनि असार २८ गते बितिसक्दा समेत नेतृत्वबाट कुनै प्रतिक्रिया नआएपछि इतर समूह अब नयाँ रणनीतिका साथ अघि बढ्ने तयारीमा लागेको छ।

मिलनबिन्दुको पर्खाइमा रहेको इतर पक्षले अब साउनभित्रै राष्ट्रिय भेला आयोजना गर्ने आन्तरिक तयारी तीव्र पारेको छ। पूर्व-उपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. महतका अनुसार आगामी साउन ६ गते प्रज्ञा प्रतिष्ठानमा छुट्टै बीपी स्मृति दिवस मनाउने र सोही दिन राष्ट्रिय भेलाको मिति घोषणा गर्ने तयारी भइरहेको छ।

अर्कोतर्फ, कांग्रेसले संगठन सुदृढीकरण र क्रियाशील सदस्यता अद्यावधिकका लागि वैशाख १ गतेदेखि देशभर सञ्चालन गरेको ‘जरा अभियान’ आगामी साउन ६ गते समापन गरिने भएको छ। अभियानमा समेटिएका प्रावधान र अनलाइन प्रणालीका कतिपय व्यवस्थाकै कारण कांग्रेसमा तीव्र मतभेद सिर्जना भई पार्टी फुटको सङ्घारमा पुगेको नेताहरूको दाबी छ।

पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्रअनुसार १५ौँ महाधिवेशनको कार्यतालिकाअन्तर्गत क्रियाशील सदस्यता फारम वितरण र अनलाइन प्रविष्ट गर्ने कार्यका लागि साउन ३ गतेसम्मको समय थप गरिएको छ। साउन ४ गते प्रतिनिधिहरूले प्रतिवेदन बुझाएपछि साउन ६ गते जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर ७७ वटै जिल्लामा ‘जरा अभियान’ को औपचारिक समापन गरिनेछ।

सभापति गगन थापाले डिजिटल ‘कांग्रेस आइडी’ अनिवार्य गर्ने र सदस्यता वडामै अद्यावधिक गर्ने लक्ष्यका साथ ल्याएको यो अभियानको समापनसँगै कांग्रेसभित्रको विभाजनले कुन रूप लिने हो भन्ने कौतुहलता र अन्यौलता झन् चुलिएको छ।

छुटाउनुभयो कि ?