काठमाडौँ । सरकारले नयाँ आधुनिक प्रणालीमार्फत राहदानी (पासपोर्ट) वितरण कार्य सुरु गरेको छ। सोमबार राहदानी विभागमा आयोजित एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्यको शुभारम्भ गरेका हुन्। नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।
विगतका विवरणहरूलाई नयाँ प्रविधिमा सार्ने क्रममा करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरणहरू सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेट) गरिएको मन्त्री खनालले जानकारी दिए।
नयाँ प्रणाली परिमार्जन तथा तयारीका लागि दुई–तीन दिनअघि देखि विभाग र विभिन्न वैदेशिक नियोगहरूमा पासपोर्ट वितरण कार्य पूर्ण रूपमा बन्द गरिएको थियो। तयारी पूरा भएसँगै नयाँ प्रणालीमार्फत वितरण कार्य सफलतापूर्वक सुरु भइसकेको मन्त्री खनालले बताए।
नयाँ प्रणालीको प्रारम्भिक परीक्षण गर्दा प्रविधि दुरुस्त र ठिक देखिए पनि व्यवहारिक प्रक्रियामा केही सामान्य प्राविधिक समस्याहरू आउन सक्ने सम्भावना रहेको मन्त्री खनालले उल्लेख गरे।
यस्ता सम्भावित प्राविधिक चुनौतीहरूलाई तत्काल समाधान गर्न र सेवालाई निरन्तरता दिन राहदानी विभाग र परराष्ट्र मन्त्रालयका प्राविधिक टोलीहरूलाई चौबीसै घण्टा ’स्ट्यान्डबाइ’ (सतर्क) अवस्थामा राखिएको उनले जानकारी दिए।