तेहरानले 'बन्द' भनेको होर्मुज जलमार्गबाट जहाजहरू पार भइरहेको अमेरिकी दाबी

तेहरानले 'बन्द' भनेको होर्मुज जलमार्गबाट जहाजहरू पार भइरहेको अमेरिकी दाबी

काठमाडौँ । इरानले रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषणा गरे पनि संयुक्त राज्य अमेरिकाले भने सो मार्गबाट जहाजहरूको आवतजावत जारी रहेको दाबी गरेको छ।

मध्यपूर्वमा खटिएको अमेरिकी सैन्य फौजको केन्द्रीय कमान्ड (सेन्टकम) ले अन्तर्राष्ट्रिय कानुन सम्मत ढंगले यात्रा गर्न चाहने संसारका सबै जहाजका लागि यो जलमार्ग खुला रहने स्पष्ट पारेको छ। होर्मुज जलमार्गमा इरानको एकल नियन्त्रण नरहेको उल्लेख गर्दै सेन्टकमले तेहरानमाथि अनावश्यक आक्रोश प्रदर्शन गरेको आरोप समेत लगाएको छ।

पछिल्लो तनावको सुरुवात इरानको इस्लामिक रेभलुशनरी गार्ड कोर (आईआरीसी) ले होर्मुज जलमार्ग भएर गुडिरहेका व्यावसायिक पानीजहाजहरूमाथि हमला गरेपछि भएको हो। इरानी सरकारी सञ्चारमाध्यमहरूले भने ती पानीजहाजहरूले नियम मिचेर आफ्नो प्राविधिक प्रणाली बन्द गरेको र स्वीकृत मार्ग परिवर्तन गरेका कारण आइतबार सबेरै क्रूज मिसाइल प्रहार गरी चेतावनीमूलक कारबाही गरिएको दाबी गरेका छन्।

इरानले बारम्बार आफ्नो जलक्षेत्र भएर जाने मार्ग मात्र ‘सुरक्षित’ रहेको जिकिर गर्दै आएको छ। तर, आईआरजीसीले साइप्रसको झण्डायुक्त व्यावसायिक जहाज ‘एमभी जीएफएस ग्यालेक्सी’ माथि सिधा आक्रमण गरेपछि अमेरिकाले यो साताकै तेस्रो चरणको ठूलो सैन्य प्रत्याक्रमण सुरु गरेको हो।

सेन्टकमका अनुसार इरानी आक्रमणका कारण सो व्यावसायिक जहाजको इन्जिन कक्षमा ठूलो क्षति पुगेको छ र जहाज अगाडि बढ्न असमर्थ भएको छ। घटनामा एक जना गैरसैनिक चालक दलका सदस्य बेपत्ता भएका छन् भने यूकेको मरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले सैनिक अधिकारीहरूले चालक दललाई जहाज छोड्न बाध्य पारेपछि उनीहरू लाइफबोटमा शरण लिन पुगेको जनाएको छ।

व्यावसायिक जहाजमा भएका यी शृङ्खलाबद्ध आक्रमणपछि अमेरिकाले इरानका मिसाइल र ड्रोन साइट, सञ्चार नेटवर्क तथा तटीय निगरानी स्थानसहित लगभग १४० वटा सैन्य निसानामा भीषण हवाई हमला गरेको छ। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले इरानले गलत छनौट गरेको र अब त्यसको परिणाम बेहोर्ने चेतावनी दिएका छन्।

अमेरिकी आक्रमणको जवाफमा इरानले कतार, कुवेत, जोर्डन र बाहरेनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी क्षेद्यास्त्र प्रहार गरेको बताएको छ। यसका साथै, अमेरिकी नौसेनालाई सहयोग पुर्‍याएको भन्दै ओमानका बन्दरगाहमा रहेका प्लेटफर्महरूमा समेत इरानले आक्रमण गरेको छ।

यसैबीच, युएईको हवाई प्रतिरक्षा प्रणालीले आफूतर्फ आउँदै गरेका इरानी क्षेद्यास्त्र र ड्रोनहरूलाई निस्तेज पार्न जवाफी कारबाही गरिरहेको छ। इरानी अधिकारीहरूका अनुसार हालसम्म भएका अमेरिकी आक्रमणहरूमा १७ जनाको मृत्यु भइसकेको छ भने ११५ जना घाइते भएका छन्। तेहरानले आफ्नो जलमार्ग बन्दको निर्णय विरुद्ध कुनै पनि अमेरिकी सैन्य कदम चालिएमा अझ गम्भीर रूपमा प्रस्तुत हुने र क्षेत्रका नयाँ अखडाहरूलाई निशाना बनाउने धम्की दिएको छ।

यो चरम सैन्य तनाव अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी हर्कतपछि युद्धविराम समाप्त भएको घोषणा गरेसँगै बढेको हो। यता इरानका विदेशमन्त्री अब्बास अराग्चीले भने अमेरिकामाथि नै सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्।

यद्यपि, राष्ट्रपति ट्रम्पले कूटनीतिक ढोका पूर्ण रूपमा बन्द नभएको संकेत गर्दै मध्यस्थकर्ताहरूले वार्ताको प्रक्रियालाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार इरानले ट्याङ्करहरूमाथि भएको आक्रमणमा आफ्नो संस्थागत संलग्नता नरहेको र यो गलत मनसाय बोकेको एउटा आन्तरिक समूहको गल्तीका कारण भएको भन्दै अमेरिकी अधिकारीहरूलाई स्पष्टीकरण समेत पठाएको बुझिएको छ।

छुटाउनुभयो कि ?