गणेश नेपालीको आत्मदाह घटना: काठमाडौँ महानगरद्वारा छानबिन समिति सघाउने र परिवारलाई राहत दिने घोषणा

गणेश नेपालीको आत्मदाह घटना: काठमाडौँ महानगरद्वारा छानबिन समिति सघाउने र परिवारलाई राहत दिने घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा वीर अस्पतालमा ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

 भक्तपुर बस्दै आएका नेपालीले यही असार २५ गते आत्मदाहको प्रयास गरेका थिए र उपचारका क्रममा उनको दुःखद निधन भएको हो, जसप्रति महानगरपालिकाले स्तब्धता प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

 घटना हुनुअघि राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेको विषयलाई लिएर महानगरका नगर प्रहरी र नेपालीबिच भनाभन भएको थियो. महानगर प्रहरीले उनको मोटरसाइकलमा ह्वील लक लगाएपछि आक्रोशित बनेका नेपालीले सोही बाइकको पेट्रोल झिकेर आफैँमाथि आगो लगाएका थिए।

यस संवेदनशील घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको जानकारी सञ्चारमाध्यममार्फत प्राप्त भएको भन्दै महानगरले उक्त समितिको तथ्यगत अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

 महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिमा छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आगामी दिनमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चालिने उल्लेख छ।

 यस्ता दुःखद घटनाहरू दोहोरिन नदिन र असल अभ्यासको विकास गरी कार्यान्वयनमा लैजान महानगरपालिका नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपायहरू पहिचान गर्न तयार रहेको स्पष्ट पार्दै यस घडीमा सबैलाई संयमित रहन र धैर्य धारण गर्न अपिल समेत गरिएको छ।

यसैबिच, महानगरपालिकाले पीडित परिवारलाई राहत र सहयोगको घोषणा समेत गरेको छ. दिवंगत गणेश नेपालीका परिवारलाई महानगरपालिकाको तर्फबाट मानवीय सहयोग उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा निर्णय गरिने प्रवक्ता मानन्धरले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ।

छुटाउनुभयो कि ?