गृहमन्त्रीको आक्रोश: ‘गणेश नेपालीको आत्मदाह प्रकरणमा विपक्षीले राजनीति नगरोस्, ह्वील लक नगर प्रहरीले गरेको हो’

गृहमन्त्रीको आक्रोश: ‘गणेश नेपालीको आत्मदाह प्रकरणमा विपक्षीले राजनीति नगरोस्, ह्वील लक नगर प्रहरीले गरेको हो’

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षी दलहरूले संसद्मा गरिरहेको विरोधप्रति कडा आक्रोश पोखेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री गुरुङले उक्त घटनामा ट्राफिक प्रहरीको कुनै संलग्नता नरहेको स्पष्ट पारे।

विपक्षी सांसदहरूका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले भने, "जुन ठाउँमा घटना घट्यो, त्यहाँ ट्राफिकले ह्वील लक गरेको होइन। के कुनै भिडियोमा ट्राफिकले ह्वील लक गरेको देखिन्छ? त्यो ह्वील लक नगर प्रहरीले लगाएको हो। स्थानीय सरकार कसको नेतृत्वमा छ र ह्वील लक कसले गर्‍यो, त्यो सबैलाई स्पष्टै छ।"

'सरकार कसरी चल्छ, सिकाउन चाहन्छु'
 

संसद्मा विपक्षी दलहरूलाई लक्षित गर्दै मन्त्री गुरुङले नेपालको शासकीय स्वरूप र तीन तहको सरकारको क्षेत्राधिकार बुझ्न आग्रह गरे।

"म सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु। हाम्रोमा तीन तहको सरकार छ— संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार," उनले थपे, "अहिले जुन नियम-कानुन कार्यान्वयन भइरहेका छन्, ती सबै विगतमा विपक्षीहरूले नै बनाएका हुन्। हामी त केवल तिनै नियमहरूको पालना र कार्यान्वयन गरिरहेका छौँ।"

गृहमन्त्री गुरुङले दुई तहको सरकार विपक्षी दलहरूकै पकडमा रहेको स्मरण गराउँदै, आफ्नै पालामा बनेका कानुन र आफ्नै नेतृत्वको स्थानीय सरकारले चालेको कदमलाई लिएर संघीय सरकारमाथि दोष थोपर्नु राजनीतिक बेइमानी भएको आरोप समेत लगाए।

छुटाउनुभयो कि ?