एमाले कार्यदलको निर्णय: प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी ‘बादल’ र पोखरेललाई

एमाले कार्यदलको निर्णय: प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी ‘बादल’ र पोखरेललाई

काठमाडौँ । नेकपा (एमाले) को पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले देशव्यापी अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई सुम्पेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको कार्यदलको बैठकले देशका विभिन्न १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो। बैठकले देशैभरिबाट संकलन गरिएका राय, सुझाव र निष्कर्षहरूलाई व्यवस्थित रूपमा समेटेर अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी नेतृत्व द्वयलाई दिएको हो।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार यो देशव्यापी अभियानबाट प्राप्त राय र सुझावहरू समेटेर तयार गरिने प्रतिवेदनले पार्टीको भावी वैचारिक, राजनीतिक तथा संगठनात्मक दिशा निर्धारण गर्न निकै महत्वपूर्ण र ठोस आधार तय गर्नेछ। प्रतिवेदनलाई अन्तिम रूप दिइनासाथ पार्टी नेतृत्वसमक्ष औपचारिक रूपमा पेश गरिने तयारी समेत भइरहेको उनले जानकारी दिए। निर्वाचनपछिको समीक्षा, पार्टीको पुनर्ताजगीकरण तथा संगठनलाई समयानुकूल रूपान्तरण गर्ने दूरगामी उद्देश्य बोकेर गठन गरिएको यस कार्यदलले देशैभर पुगेर तल्लो तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि, जनसङ्गठनका प्रतिनिधि तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष संवाद गर्दै रचनात्मक सुझावहरू संकलन गरेको थियो।

कार्यदलका अनुसार यो अभियानका क्रममा प्राप्त भएका मुख्य सुझावहरू पार्टीभित्रको शुद्धीकरण, संगठन सुदृढीकरण, नयाँ नेतृत्व विकास, कार्यशैलीमा व्यापक सुधार र जनतासँगको सम्बन्धलाई थप प्रगाढ एवं मजबुत बनाउने विषयहरूमा विशेष रूपमा केन्द्रित रहेका छन्। कार्यदलको यस बैठकले देशव्यापी रूपमा सुझाव संकलन कार्यक्रमलाई भव्य र सफल बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउने सम्पूर्ण प्रदेश, जिल्ला तथा मातहतका पार्टी कमिटीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। साथै, अभियानमा सक्रियतापूर्वक सहभागी भई अमूल्य र रचनात्मक सुझाव दिने सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा सरोकारवालाहरू प्रति कार्यदलले हार्दिक आभार समेत व्यक्त गरेको छ। देशभरबाट प्राप्त यी सुझावहरू पार्टी पुनर्गठनको भावी कार्ययोजना निर्माणका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै प्रतिवेदन स्वीकृत भएपछि सोही आधारमा शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका कार्यक्रमहरूलाई व्यवस्थित रूपमा अघि बढाइने एमालेले जनाएको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?