काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको मूल ध्येय नागरिकले प्राप्त गरेका अधिकारहरू संकुचित गर्ने नभई तिनलाई थप विस्तार, सुदृढ र गहिरो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।
‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा आफ्नो धारणा राख्दै थापाले संविधान संशोधनको प्रक्रिया स्वाभाविक र स्वागतयोग्य भएको उल्लेख गरे।
संविधानसभामार्फत नेपालको संविधान जारी भएको करिब एक दशक पूरा हुन लागेकाले यसको पुनरावलोकन आवश्यक भइसकेको स्पष्ट पार्दै उनले स्वयं संविधानले पनि निश्चित समयपछि पुनरावलोकनको परिकल्पना गरेको र कतिपय विषयमा त १० वर्षपछि संघीय संसद्ले नै पुनरावलोकन गर्नुपर्ने कानुनी व्यवस्था समेत गरेको स्मरण गराए।
सभापति थापाले संविधान संशोधनको बहस अघि बढाउँदा केही संवेदनशील विषयहरूमा सुरुदेखि नै सचेत हुनुपर्ने धारणा समेत राखे। सशस्त्र द्वन्द्वपछिको संक्रमणकालीन कठिन परिस्थितिमा संविधान निर्माण भएको ऐतिहासिक पृष्ठभूमिलाई भुल्न नहुनेमा जोड दिँदै उनले त्यसबेला संविधानप्रति व्यापक आमअपनत्व र स्वामित्व स्थापित गर्नका लागि राज्यले विभिन्न आन्दोलनरत पक्षहरूसँग समय–समयमा महत्वपूर्ण सम्झौताहरू गरेको उल्लेख गरे।
तसर्थ, अब हुने संविधान संशोधनको प्रक्रियामा ती ऐतिहासिक पृष्ठभूमि, विगतमा भएका राजनीतिक सहमति र नागरिकका मौलिक अधिकारहरूको पूर्ण संरक्षणलाई केन्द्रमा राखेर मात्र छलफल अगाडि बढाउनुपर्नेमा उनले विशेष जोड दिए।