काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासका विविध विषयमा आज निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग बालुवाटारमा विशेष छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग भएको उक्त भेटघाटमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणमा निर्माण क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
उनले यस क्षेत्रमा लामो समयदेखि देखिँदै आएका व्यावहारिक समस्याहरूलाई हल गर्नका लागि वर्तमान सरकार पूर्ण रूपमा सकारात्मक रहेको स्पष्ट पारे।
छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई अझ बढी मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।
विकास निर्माणका ठूला तथा साना आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि सरकार र व्यवसायी लगायत सबै पक्षको सक्रिय एवं प्रभावकारी सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
उनले गुणस्तरीय काम र समयमै आयोजना हस्तान्तरण गर्ने परिपाटीको विकास गर्न निर्माण व्यवसायीहरूलाई विशेष आग्रह समेत गरे।
उक्त महत्त्वपूर्ण छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेको सहभागिता रहेको थियो।
भेटघाटका अवसरमा महासंघका प्रतिनिधिहरूले निर्माण क्षेत्रले लामो समयदेखि भोग्दै आएका मुख्य समस्याहरू जस्तै भुक्तानीमा ढिलाइ, म्याद थपको अन्योल, ठेक्का व्यवस्थापनमा रहेका जटिलता, समयमै आयोजना कार्यान्वयन हुन नसक्नु, मूल्य समायोजनको अभाव तथा बैंकिङ एवं लगानीसम्बन्धी विविध चुनौतीहरूका बारेमा प्रधानमन्त्री शाहलाई विस्तृत रूपमा जानकारी गराएका थिए।
साथै, सुस्ताएको निर्माण उद्योगलाई पुनः चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ बढी कसिलो र प्रभावकारी बनाउनुपर्ने धारणा व्यवसायीहरूले व्यक्त गरे।