संसद्‍मा आज पनि विपक्षीको विरोध

संसद्‍मा आज पनि विपक्षीको विरोध

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै आफ्नो विरोधलाई निरन्तरता दिएका छन्।

बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ-आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले एउटै विषयमा निरन्तर अवरोध भइरहेकाले विपक्षी दलका तर्फबाट संक्षिप्त धारणा राख्नका लागि समय उपलब्ध गराएका थिए।

विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी हरिनादेवी कामीले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ...’ भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाइन्।

उनले राष्ट्रियता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले संसद्मा स्पष्ट जवाफ दिनुपर्ने र उक्त विवादास्पद अभिव्यक्तिलाई संसद्को रेकर्ड (अभिलेख) बाट तत्काल हटाउनुपर्ने माग गरिन्।

कामीको सम्बोधनपछि अन्य विपक्षी दलका सांसदहरूले पनि पालैपालो बोल्नका लागि समय माग गरेपछि सभामुख अर्यालले सबै विपक्षी दललाई पालैपालो आफ्ना भनाइ राख्न समय दिएका थिए।

छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) की यशुदाकुमारी बरालले विपक्षी दलहरूले पटक-पटक राष्ट्रिय सरोकारका विषय उठाउँदै आए पनि सरकारले त्यसलाई सुनुवाइ नगरेको भन्दै संसद्को गम्भीर ध्यानाकर्षण गराइन्।

सोही पार्टीका सांसद भीमकुमार बुढामगरले सिंगो नेपाली जनता आफ्नो भूमिको रक्षाका लागि अनवरत रूपमा प्रतिबद्ध रहेका बेला देशको प्रधानमन्त्रीले राष्ट्रियतासँग जोडिएको आफ्नो संवेनदशील अभिव्यक्तिलाई तत्काल सच्च्याउनुपर्ने धारणा राखे।

यसैगरी, श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले प्रधानमन्त्रीको उक्त गैरजिम्मेवार अभिव्यक्तिमाथि प्रश्न उठाउँदै सरकारको नियतमाथि शंका व्यक्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीले सीमा र राष्ट्रियताको यो गम्भीर मुद्दामा सत्ता पक्षको स्पष्ट र आधिकारिक धारणा के हो भनी संसद्‌मार्फत सार्वजनिक गर्न माग गरिन्।

विपक्षी दलहरूको लगातारको विरोध र आसनबाट उठेर गरिएको विरोधका कारण आजको संसद् बैठक निकै गर्मागर्मी बनेको थियो।

छुटाउनुभयो कि ?