काठमाडौं। आगामी साउन १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘गौँथली’ को आधिकारिक ट्रेलर सार्वजनिक भएसँगै यसको चौतर्फी चर्चा सुरु भएको छ।
झन्डै २५ वर्ष अगाडि प्रदर्शन भएको सोही शीर्षकको चर्चित चलचित्रको मूल भाव र गीतिकथामा आधारित रहेर यो नयाँ ‘गौँथली’ तयार गरिएको हो। सानै उमेरमा विवाहको बन्धनमा बाँधिनुपरेकी एक बालिकाको पढ्ने तीव्र चाहना र त्यसका लागि उनले गर्ने संघर्षलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ।
यस संवेदनशील कथाको लेखन तथा निर्माण वरिष्ठ चिकित्सक डाक्टर भोला रिजालले गर्नुभएको हो भने उहाँकै छोरा डाक्टर कपिल रिजालले यस चलचित्रको निर्माण तथा निर्देशन गरेका छन्। बेलायतमा प्रतिष्ठित दन्त चिकित्सकका रूपमा स्थापित निर्देशक डाक्टर रिजालको यो दोस्रो निर्देशित चलचित्र हो, यसअघि उनले व्यावसायिक चलचित्र ‘ह्यारीकी प्यारी’ को निर्देशन गरिसकेका छन्।
चिकित्सकीय पृष्ठभूमि भएकै कारण निर्देशक रिजालका चलचित्रहरूमा सामाजिक विषयवस्तुका साथै कुनै न कुनै स्वास्थ्य समस्यालाई कलात्मक रूपमा प्रस्तुत गरिएको पाइन्छ।
आफ्नो अघिल्लो चलचित्र ‘ह्यारीकी प्यारी’ मा ‘स्पर्म डोनेशन’ (वीर्य दान) को नौलो विषयवस्तुलाई पर्दामा उतारेका निर्देशक डाक्टर रिजालले ‘गौँथली’ मा भने ‘अटिजम’ (मस्तिष्कको विशेष अवस्था) भएको व्यक्तिको जीवनशैली र उसको मनोभावलाई प्रस्तुत गरेका छन्।
उनले आफू चिकित्सक भएकाले पनि स्वास्थ्य सम्बद्ध विषयहरू स्वतः सोचमा आउने र यसले आम दर्शकलाई ती स्वास्थ्य समस्याबारे सुक्ष्म रूपमा परिचित गराउँदै सचेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
चलचित्रमा ग्रामीण परिवेशमा अध्ययन गर्न चाहिरहेकी एक बालिका र असामान्य व्यवहार देखाउने एक युवकको सम्बन्धलाई निकै मार्मिक ढङ्गले देखाइएको छ।
ट्रेलर सार्वजनिक भएपछि दर्शकहरूले यसको ग्रामीण परिवेश र मन छुने कथावस्तुको निकै प्रशंसा गरिरहेका छन्। पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेकी युवती र अटिजम भएका युवकको यो असामान्य जोडीले जीवनमा भोग्ने उतारचढाव र त्यसमा शिक्षाले पार्ने प्रभावलाई चलचित्रमा सरल तर गम्भीर रूपमा प्रस्तुत गरिएको छ।
चलचित्रमा एसइई उत्तीर्ण गर्ने सपना बोकेकी बालिकाको भूमिकामा अभिनेत्री सिम्रन खड्का र अटिजम भएको युवकको रूपमा अभिनेता अरुण क्षेत्रीले सशक्त अभिनय गरेका छन्।
उनीहरूका साथमा चलचित्रमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायतका अनुभवी कलाकारहरूको अभिनय रहेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माताका रूपमा सुमन गिरी र डाक्टर कपिल रिजाल रहेका छन्।
डाक्टर भोला रिजालको कथामा आधारित यस चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्। शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको सुमधुर संगीत रहेको यस चलचित्रमा एलिस कार्कीको पार्श्व संगीत, हरि हुमागाईँको उत्कृष्ट छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
रीच इन्टरटेनमेन्टले वितरण गर्न लागेको यस चलचित्रले घर, परिवार र आपसी सामीप्यताको एउटा प्रतीकात्मक एवं सन्देशमूलक अर्थ बोकेको निर्देशक रिजालको भनाइ छ।