काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्र राईले प्रयोग गरेको असंसदीय अभिव्यक्तिलाई संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालले निर्देशन दिएका छन्।
सोमबारको बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखको आसनलाई लक्षित गर्दै, "सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुन्न?" भन्ने आपत्तिजनक प्रश्न गरेका थिए। सांसद राईको उक्त अमर्यादित अभिव्यक्तिका कारण बैठकमा तीव्र तनाव उत्पन्न भएको थियो भने स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगितसमेत गर्नु परेको थियो।
१५ मिनेटको स्थगनपछि पुनः सुरु भएको बैठकमा सभामुख अर्यालले सांसद राईको उक्त भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसलाई संसद्को रेकर्डबाट हटाउन (म्युट गर्न) संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।
यसअघि बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौलाले सो गैरसंसदीय शब्दप्रति नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेकी थिइन्।