दुबई। स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि आक्रमण भएपछि संयुक्त राज्य अमेरिकाले बुधबार बिहान इरानका सैन्य संरचनाहरूमाथि ठूलो हवाई आक्रमण गरेको छ।
यस कारबाहीको जवाफमा इरानले अमेरिकी सैन्य उपस्थिति रहेका बहराइन र कुवेतलाई लक्षित गरी मिसाइल प्रहार गरेपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। पछिल्लो सैन्य टकरावले केही समयदेखि जारी युद्धविरामीका प्रयासहरूलाई गम्भीर धक्का पुर्याउँदै यस क्षेत्रलाई पुनः व्यापक द्वन्द्वतर्फ धकेल्ने जोखिम बढाएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार तेहरानले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यापारिक जहाजहरूलाई निशाना बनाएकाले जवाफी कारबाही स्वरूप इरानका हवाई रक्षा प्रणाली, राडार र अर्धसैनिक इस्लामिक क्रान्तिकारी गार्डले प्रयोग गर्ने ६० भन्दा बढी तीव्र गतिको साना डुङ्गाहरूलाई ध्वस्त पारिएको छ। यस आक्रमणसँगै वासिङ्टनले अन्तरिम सम्झौताअर्गत इरानलाई खुला रूपमा कच्चा तेल बिक्री गर्न दिएको अनुमति समेत रद्द गरिदिएको छ, जसले इरानलाई वर्षौंपछि अमेरिकी डलरमा तेल बेच्ने मार्ग खोलेको थियो।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी भइरहेका बेला यो भिडन्त भएको हो, जसको फेब्रुअरी २८ मा युद्धको प्रारम्भिक चरणमै मृत्यु भएको थियो। बिहीबार हुने अन्त्येष्टिपछि हर्मुज जलघाँटी पूर्ण रूपमा खुल्ने र आणविक कार्यक्रमबारे वार्ता अघि बढ्ने अपेक्षा गरिएको भए पनि पछिल्लो घटनाले त्यसमा अनिश्चितता थपेको छ। इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफले अमेरिका र उसका सहयोगीमाथि आक्रामक टिप्पणी गर्दै इरान कुनै दबाबमा नझुक्ने स्पष्ट पारेका छन्।
इरानको केन्द्रीय सैन्य कमान्डले अमेरिकी कारबाहीलाई आतङ्कवादी कार्यको संज्ञा दिँदै बन्दर अब्बास, केशम र सिरिक क्षेत्रमा विस्फोट भएको स्वीकारेको छ तर क्षतिको विवरण भने गोप्य राखेको छ। यो घटना यस्तो समयमा भएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नाटो शिखर सम्मेलनका लागि टर्कीमा छन्।
विश्वको करिब पाँचौँ भाग कच्चा तेल र प्राकृतिक ग्यास ओसारपसार हुने रणनीतिक हर्मुज जलघाँटीमा युद्ध सुरु भएयता इरानले कडा नियन्त्रण कायम राख्दै आएको छ। मंगलबार कतारी ट्यांकर 'अल रेकयात' सहितका जहाजहरूले इरानले तोकेको मार्गको सट्टा ओमानको तटीय मार्ग प्रयोग गरेपछि इरानले आक्रमण गरेको दाबी गरिएको छ, जसमा कतारले इरानलाई पूर्ण जिम्मेवार ठहर्याएको छ।
बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्रका अनुसार ओमानको तट नजिक यात्रा गरिरहेको एउटा तेल ट्यांकरमा आगलागी भएको छ भने अन्य दुई जहाजमा सामान्य क्षति पुगेको छ। ६० दिनसम्म जहाजलाई निःशुल्क आवतजावत गर्न दिने अन्तरिम सहमति भए पनि इरानले मार्ग आफैं निर्धारण गर्ने र भविष्यमा शुल्क लिने अडान राखेपछि विवाद चर्किएको हो, जसमा अमेरिका र खाडी राष्ट्रहरूले शुल्क तिर्न अस्वीकार गर्दै आएका छन्। विज्ञहरूका अनुसार यो जलमार्गको अस्थिरताले विश्व ऊर्जा बजारमा प्रत्यक्ष र गम्भीर प्रभाव पार्ने निश्चित छ।