काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष गम्भीर मोडमा पुगेको छ। पार्टीभित्र संस्थापन र इतर पक्षबीच बढ्दै गएको दूरीका कारण आगामी १५औं महाधिवेशनसँगै कांग्रेस एकीकृत रहने कि विभाजनको बाटोमा जाने भन्ने संकट पैदा भएको छ। दुवै समूहका समानान्तर गतिविधि यही शैलीमा अघि बढेमा १५औं महाधिवेशनसँगै पार्टी विभाजन निश्चित रहेको चेतावनी नेताहरूले दिन थालेका छन्।
गत पुस २०८२ मा सम्पन्न दोस्रो विशेष महाधिवेशनपछि स्पष्ट रूपमा दुई धारमा बाँडिएको कांग्रेसमा अहिले नेतृत्व र वर्चस्वको लडाईं सतहमा आएको हो। विशेष महाधिवेशनमार्फत पार्टी सभापति बनेका गगनकुमार थापाको संस्थापन पक्ष र १४औं महाधिवेशनको विरासत बोकेका पूर्वसभापति शेरबहादुर देउवा तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको इतर पक्ष आ–आफ्नै रणनीतिअनुसार अगाडि बढेपछि ध्रुवीकरण तीव्र बनेको छ। गत फागुन २०८२ को निर्वाचनमा ब्यहोरेको सांगठनिक क्षति र पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोग र अदालतबाट निरूपण भइसके पनि नेताहरूबीचको अहं र शक्ति संघर्ष भने कायमै देखिएको छ।
आगामी नियमित १५औं महाधिवेशनलाई लक्षित गर्दै आफ्नो शक्ति सुदृढ पार्ने रणनीति अन्तर्गत संस्थापनइतर पक्षले सोमबार काठमाडौंको महाराजगन्जस्थित चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। उक्त कार्यालयको उद्घाटन गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान नेतृत्वले सबैलाई समेटेर लैजान नसकेको गम्भीर आरोप लगाए।
खड्काले विशेष महाधिवेशनको नाममा विधान र प्रक्रिया मिचेर नेतृत्व कब्जा गर्ने काम भएको दाबी गर्दै त्यसले कांग्रेसको जग नै हल्लाइदिएको जिकिर गरे। आफूहरू पार्टीलाई फुटबाट जोगाउन निरन्तर संवादमा रहे पनि संस्थापन पक्षबाट एकताको कुनै ठोस खाका नआएको उनको भनाइ थियो। खड्काले अब चुप लागेर नबस्ने चेतावनी दिँदै चुनदेवीको नयाँ कार्यालय १५औं महाधिवेशनमा न्याय र वैधानिकताका लागि लड्ने कमान्ड सेन्टर बन्ने घोषणा गरे।
चुनदेवी कार्यालय उद्घाटन लगत्तै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका उपलब्ध सदस्यहरूको बैठक समेत बसेको थियो। बैठकपछि नेता मीनबहादुर विश्वकर्माले कांग्रेस हिजो पहिलो पार्टी रहेको र हाल केही खस्किएको स्वीकार गर्दै पार्टीलाई पुनः मजबुत बनाउन सबै एक हुनुपर्नेमा जोड दिए।
इतर समूहले संस्थापन पक्षको एकलौटी निर्णयविरुद्ध देशव्यापी रूपमा प्रादेशिक भेला सम्पन्न गरिसकेको र चाँडै नै राष्ट्रिय भेला बोलाउने तयारी गरिरहेको छ। नेता विश्वकर्माले पार्टीलाई विभाजनको संकटबाट जोगाउन शीर्ष नेता र केन्द्रीय सदस्यहरूले निरन्तर प्रयास जारी राखे पनि पछिल्ला पाँच महिनामा एकताका लागि गरिएका प्रयासबाट कुनै ठोस परिणाम निस्किन नसकेको बताए।
निर्वाचन आयोग र अदालतबाट कानुनी मान्यता प्राप्त गरेको वर्तमान नेतृत्वले पार्टी एकताका लागि प्रभावकारी र जिम्मेवार पहल गर्न नसकेको आरोप उनले लगाए। सोमबारको बैठकले आगामी ६ साउनमा जननायक विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसलाई ऐतिहासिक रूपमा मनाउने निर्णय गरेको छ र यसको विस्तृत कार्यतालिका तय गर्न मंगलबार पुनः बैठक बस्ने तयारी छ। मंगलबारको बैठकले १५औं महाधिवेशनको भावी कार्यतालिका, नयाँ सम्पर्क कार्यालयमार्फत सञ्चालन गरिने सांगठनिक गतिविधि तथा देशव्यापी तयारीका बारेमा थप महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।
नेता विश्वकर्माले वर्तमान नेतृत्वकै कार्यशैली र अडानका कारण पार्टी एकतामा बाधा पुगेको र विशेष महाधिवेशनको अडानकै कारण पछिल्लो निर्वाचनमा कांग्रेस प्रतिनिधि सभामा ८९ सिटको बलियो उपस्थितिबाट खुम्चिएर ३८ सिटमा सीमित हुनुपरेको दाबी गर्दै नेतृत्वको गम्भीर समीक्षा हुनुपर्ने माग गरे।
अर्कातर्फ, विशेष महाधिवेशनबाट कानुनी र राजनीतिक रूपमा स्थापित सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्ष भने पार्टीलाई आधुनिक र चलायमान बनाउन केन्द्रित भएको दाबी गरिरहेको छ। संसदमा मुख्य विपक्षी दलको भूमिकामा रहेको कांग्रेसले हालै सरकारको कामकारबाहीको समीक्षा गर्दै संगठन सुदृढीकरणका कार्यक्रम अघि सारेको छ। पार्टीभित्र बढ्दै गएको दूरी र इतर पक्षको अलग्गै कार्यालय स्थापनाबारे प्रतिक्रिया दिँदै सभापति थापाले आफू अझै पनि सबै अग्रज नेताहरूलाई समेटेर अघि बढ्न तयार रहेको बताएका छन्। आफूले कसैलाई निषेध नगरेको उल्लेख गर्दै थापाले आफू स्वयम् निवर्तमान सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र शेखर कोइरालाको निवासमै पुगेर पार्टी एकताका
लागि विभिन्न प्रस्ताव राखिसकेको जानकारी दिए। लोकतान्त्रिक पार्टीमा फरक मत हुनु सामान्य भए पनि अलग्गै गुटगत कार्यालय खोलेर समानान्तर गतिविधि गर्दा कार्यकर्तामा निराशा छाउने भन्दै थापाले पुनः संवादको टेबलमा बसेर मिलेर कांग्रेसलाई देशको नम्बर एक शक्ति बनाउन आग्रह गरेका छन्।
संस्थापन पक्षले अहिले देशभर डिजिटल माध्यमबाट क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्ने कार्यलाई व्यापक बनाएको छ। महामन्त्री प्रदीप पौडेलको संयोजनमा भइरहेको यो कार्यले पार्टीलाई पारदर्शी र प्रविधिमैत्री बनाउने संस्थापनको दाबी छ। तर, इतर पक्षले भने नयाँ सदस्यता अद्यावधिमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै तत्काल यो प्रक्रिया रोक्न माग गरिरहेको छ। यसैबीच कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको अवधि पुनः थप गरेको छ। महामन्त्री पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरणको समय अब ३ साउनसम्म कायम रहने गरी थप गरिएको हो।
यसअघि तोकिएको २० असारको समयसीमा पर्याप्त नभएको निष्कर्षसहित पार्टीले सदस्यता वितरणलाई थप प्रभावकारी बनाउन अवधि बढाउने निर्णय गरेको हो। महामन्त्री पौडेलले पार्टीका सम्बन्धित सबै निकायलाई थपिएको समयसीमाभित्र सदस्यता वितरणको काम सम्पन्न गर्न आग्रह गरेका छन्। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ।
कांग्रेसभित्रको यो आन्तरिक द्वन्द्वको मुख्य चुरो आगामी १५औं महाधिवेशनको नेतृत्व र क्रियाशील सदस्यता वितरणसँग जोडिएको छ। इतर पक्षको शीर्ष बैठकले संस्थापन पक्ष एकतर्फी ढंगले अगाडि बढेका कारण आगामी महाधिवेशन सहमति वा एकताको महाधिवेशन हुने सम्भावना एकदमै कम रहेको निष्कर्ष निकालेको छ। दुवै पक्ष आगामी महाधिवेशनमा आफ्नो बहुमत सुनिश्चित गर्न अहिलेदेखि नै तल्लो तहसम्म शक्ति प्रदर्शनमा उत्रिएका छन्।
इतर पक्षले वैधानिकताको प्रश्न उठाउँदै देशव्यापी भेला मार्फत कार्यकर्ता फकाउने रणनीति लिएको छ भने संस्थापन पक्ष संस्थागत अधिकार र प्रविधिको प्रयोग गर्दै आफ्नो पकड बलियो बनाउन लागिपरेको छ। पार्टीभित्र समन्वय गरिरहेका दोस्रो तहका नेताले भने दुवै पक्ष जिम्मेवार नभए कांग्रेस इतिहासकै ठूलो विभाजनको संकटमा फस्ने चेतावनी दिँदै आएका छन्। दुवै पक्षले वार्ताका लागि ढोका खुल्ला रहेको बताए पनि व्यावहारिक रूपमा भने सम्बन्ध झन्झन् चिसिँदै गएको देखिन्छ।
विवाद समाधानको प्रयाससँगै आगामी महाधिवेशनको प्राविधिक तयारी पनि तीव्र रूपमा अगाडि बढाइएको छ। महाधिवेशन सम्पन्न गर्नका लागि गत आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १५औं महाधिवेशनका बारेमा पार्टीको केन्द्रीय निर्वाचन समितिले छलफल गरेको छ। महाधिवेशनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित निर्वाचन प्रक्रियामा डिजिटल प्रणाली तथा ईभीएम (इलेक्ट्रोनिक भोटिङ मेसिन) प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको छ।
कांग्रेसको १५औं महाधिवेशन आगामी १६ देखि १९ असोजसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ। महाधिवेशनको कार्यतालिकाअनुसार केन्द्रीय निर्वाचन समितिले आफ्नो तर्फबाट तयारी थालेको र आगामी महाधिवेशनमा प्रविधिलाई प्राथमिकता दिने गरी काम भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।