कांग्रेस संस्थापनइतरले साउन ६ गते बृहत् कार्यक्रम गर्ने

कांग्रेस संस्थापनइतरले साउन ६ गते बृहत् कार्यक्रम गर्ने

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आगामी साउन ६ गते जननायक विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा बृहत् कार्यक्रम आयोजना गर्ने भएको छ। काठमाडौंको चुनदेवी, महाराजगञ्जमा भर्खरै स्थापना गरिएको नयाँ सम्पर्क कार्यालयमा सोमबार बसेको समूहको बैठकले उक्त निर्णय गरेको हो।

नेता मीन विश्वकर्माका अनुसार उक्त विशेष कार्यक्रम काठमाडौंमै आयोजना गरिने भए पनि यसको विस्तृत कार्यतालिका र ठोस स्थान तय हुन भने बाँकी छ। यसबारे थप छलफल गर्न र अन्तिम रूप दिन मंगलबार पुनः बैठक बस्दै छ।

मंगलबारको बैठकले साउन ६ को कार्यक्रमका साथै १५औँ महाधिवेशनको आन्तरिक कार्यतालिका र नयाँ सम्पर्क कार्यालयमार्फत सञ्चालन गरिने सांगठनिक गतिविधिहरूको रूपरेखाबारे समेत महत्त्वपूर्ण निर्णय लिने नेता विश्वकर्माले जानकारी दिए।

पार्टीभित्रको आन्तरिक समीकरण र एकताको आवश्यकता औँल्याउँदै उनले विशेष महाधिवेशनको पक्षमा नरहेका आधाभन्दा बढी साथीहरू अहिले सांगठनिक प्रक्रियाभन्दा बाहिर रहेकाले पार्टीलाई एकढिक्का बनाउन आफूहरूले निरन्तर जोड दिइरहेको बताए। यो सम्पर्क कार्यालय स्थापना गर्नुको मुख्य उद्देश्य नै आगामी १५औँ महाधिवेशनलाई नीतिगत र व्यावहारिक रूपमै पार्टी एकताको महाधिवेशन बनाउन नेतृत्वमाथि आवश्यक दबाब सिर्जना गर्नु रहेको उनको भनाइ थियो।

छुटाउनुभयो कि ?