तेहरान। इरानका पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा एक विशाल शोक जुलुस सुरु भएको छ।
गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा सुरु गरेको इरान युद्धको प्रारम्भिक चरण (अपरेसन एपिक फ्युरी) अन्तर्गत भएको भीषण हवाई आक्रमणमा ८६ वर्षीय खामेनीको मृत्यु भएको थियो।
उक्त हवाई हमलामा खामेनीको तेहरानस्थित निवास पूर्ण रूपमा ध्वस्त भएको थियो भने उनका छोरी, ज्वाइँ, बुहारी र नातिनातिनासहित परिवारका अन्य सदस्यहरूको समेत ज्यान गएको थियो। लामो समयको प्रतिक्षा र तयारीपछि अहिले ६ दिने राजकीय अन्त्येष्टि प्रक्रिया सुरु गरिएको हो।
इरानी राज्य सञ्चारमाध्यमका अनुसार राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा खामेनी र उनका दिवंगत परिवारका सदस्यहरूको पार्थिव शरीरलाई राखी ट्रकमार्फत तेहरानका मुख्य सडकहरू हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ अगाडि बढाइएको छ।
इरानी अधिकारीहरूले सरकारप्रतिको जनसमर्थन र बलियो एकता प्रदर्शन गर्ने उद्देश्यका साथ यस जुलुसमा लाखौँ नागरिकलाई सहभागी गराएका छन्।
ऐतिहासिक ग्रान्ड मोसल्ला मस्जिदबाट सुरु भएको यो शवयात्रामा सहभागी शोकाकुल नागरिकहरूले "अमेरिका र इजरायल मुर्दाबाद" को नारा लगाउँदै छाती पिटेर शोक व्यक्त गरिरहेका छन्।
शनिबारदेखि सुरु भएको यो राष्ट्रिय शोक आगामी बिहीबारसम्म जारी रहनेछ। तेहरान र इराकका शिया धार्मिक सहरहरू कर्बला र नजफ हुँदै खामेनीको शवलाई उनको जन्मस्थान मशहदस्थित पवित्र इमाम रेजा मन्दिर परिसरमा अन्तिम संस्कार गरिनेछ।
यस शोक अवधिमा इरान सरकारले सडक, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिहरूमा विशेष प्रतिबन्ध लगाएको छ।
यो अन्त्येष्टि यस्तो समयमा भइरहेको छ जहाँ संयुक्त राज्य अमेरिकाले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलघाँटीलाई पूर्ण रूपमा पुनः सञ्चालन गर्न, इरानको विवादित आणविक कार्यक्रममाथि नियन्त्रण कायम गर्न र युद्धको स्थायी अन्त्यका लागि कूटनीतिक वार्ता अगाडि बढाउन दबाब दिइरहेको छ।
तर इरानले यो अन्त्येष्टि नसकिँदासम्मका लागि वार्ता पूर्ण रूपमा स्थगित रहने संकेत दिएको छ, जसले गर्दा यस क्षेत्रमा थप अन्योलता बढेको छ।
अन्त्येष्टिको भावुक वातावरणबीच खामेनीको मृत्युको बदला लिनुपर्ने आवाज जनस्तरमा निकै चर्किएको छ। जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध कडा आक्रोश व्यक्त गर्दै उनीहरूको हत्याको मागसहितका प्लेकार्डहरू बोकेका थिए।
सन् २०२० मा अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी जनरल कासिम सुलेमानीको घटनापछि ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूमाथि इरानबाट आउन सक्ने सम्भावित सुरक्षा थ्रेटलाई वासिङ्टनले लामो समयदेखि निगरानीमा राख्दै आएको छ। यद्यपि, इरानले ट्रम्पको हत्या गर्ने कुनै पनि गुप्त षड्यन्त्रको आरोपलाई सधैँ अस्वीकार गर्दै आएको छ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युद्धका क्रममा इरानलाई कडा चेतावनी दिँदै यदि इरानले कुनै पनि जवाफी कदम चालेमा देशको प्राचीन सभ्यतासमेत ध्वस्त पारिदिने धम्की दिइसकेका छन्।
यस्तो तनावपूर्ण अवस्थामा पनि इरानी नागरिकहरूमा आक्रोश र प्रतिशोधको भावना प्रष्ट देखिन्छ। शोक जुलुसमा सहभागी स्थानीय नागरिक फातिमा हसनले आफ्नो आक्रोश पोख्दै भने, “आज हामी हाम्रा महान् नेताप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न यहाँ उपस्थित भएका छौँ। यो हाम्रो इतिहासकै अत्यन्त पीडादायी दिन हो। हामी उनलाई केवल भावपूर्ण बिदाइ मात्र गरिरहेका छैनौँ, बरु उहाँको शहादतको बदला लिन पनि उत्तिकै दृढ संकल्पित छौँ।”
खामेनीको मृत्युपछि उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरिए पनि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्, जसलाई लिएर अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरिरहेको छ।