नेपाली कांग्रेसको १५ औं महाधिवेशन 'पेपरलेस' हुने, उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता

नेपाली कांग्रेसको १५ औं महाधिवेशन 'पेपरलेस' हुने, उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता

काठमाडाैं। नेपाली कांग्रेसले आफ्नो आगामी १५ औं महाधिवेशनको निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री र आधुनिक बनाउने भएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्दै निर्वाचनलाई 'पेपरलेस' बनाउने निर्णय गरेको हो। यसका लागि परम्परागत मतपत्रको सट्टा विद्युतीय मतदान मेसिन (ईभीएम) मार्फत मतदान प्रक्रिया अगाडि बढाइनेछ।

समितिले निर्वाचन प्रक्रियामा समावेशिता र महिला सहभागितालाई विशेष जोड दिँदै काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा नवीनतम व्यवस्था लागू गर्ने भएको छ। जसअनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला, ती जिल्लाभित्र पर्ने १५ वटै निर्वाचन क्षेत्र तथा महानगरपालिका र नगरपालिकाहरूमा महिला कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृतका रूपमा प्राथमिकताका साथ खटाइने निर्णय गरिएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकले आसन्न निर्वाचनको आचारसंहितामा समेत निकै कडाइ गर्ने संकेत गरेको छ।

निर्वाचन प्रक्रिया प्रारम्भ भएदेखि नै आचारसंहिता पूर्ण रूपमा लागू हुने भएकाले पार्टीको विधानमा तोकिएको दायराभन्दा बाहिर गएर गतिविधि नगर्न र नियमको अक्षरसः पालना गर्न केन्द्रीय कार्यसमितिसहित पार्टीका सबै तह र निकायलाई आग्रह गरिएको छ।

यसैगरी, महाधिवेशनको निर्वाचन कार्यलाई थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन समितिले नयाँ रणनीति अपनाउने भएको छ। निर्वाचन प्रक्रियालाई सघाउन कानुन व्यवसायी तथा अन्य व्यावसायिक पेसागत समूहहरूलाई स्वयंसेवकका रूपमा सहभागी हुन आह्वान गर्दै एउटा विशेष 'रोस्टर' तयार गरिनेछ।

यसरी रोस्टरमा आबद्ध भएका दक्ष व्यक्तिहरूलाई आवश्यक अभिमुखीकरण कार्यक्रम प्रदान गरी आवश्यकताअनुसार विभिन्न तहको निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी दिएर खटाउने निर्णयसमेत समितिले गरेको छ।

छुटाउनुभयो कि ?