साम्राज्यवाद असफल भयो, चीन विश्व राजनीतिको केन्द्रबिन्दु बन्यो: पूर्वप्रधानमन्त्री नेपाल

साम्राज्यवाद असफल भयो, चीन विश्व राजनीतिको केन्द्रबिन्दु बन्यो: पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अन्तर्राष्ट्रिय राजनीतिमा कम्युनिष्ट तथा वामपन्थी विचारधाराको प्रभाव क्रमशः बढ्दै गएको दाबी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संयुक्त राज्य अमेरिकादेखि युरोपसम्म कम्युनिष्ट गतिविधिहरू सञ्चालन भइरहेको बताए। उनले ल्याटिन अमेरिकी देशहरूमा वामपन्थीहरूले चुनाव जितेर राष्ट्रपति बनेको र अफ्रिकी मुलुकहरूमा समेत यसको प्रभाव विस्तार भइरहेको उल्लेख गरे।

साम्राज्यवादी शक्तिहरूले इरानलाई तह लगाउने ठाने पनि अन्त्यमा उसैैसँग सम्झौता गर्नुपरेको र पार नलागेपछि चीनको सहयोग लिन पुगेको भन्दै उहाँले हाल चीन विश्व राजनीतिको केन्द्रबिन्दु बन्दै गएको प्रष्ट पारे।

सहसंयोजक नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई चिनियाँ र भियतनामी कम्युनिष्ट पार्टीका अनुभवहरू मात्र नभई विरोधी तथा गैर–वामपन्थी शक्तिहरूले गरेका सकारात्मक कार्यहरूबाट पनि सिक्न हिचकिचाउन नहुने सुझाव दिए।

विरोधीहरूका राम्रा कुराहरू सिकेर उनीहरूभन्दा उत्कृष्ट आफूलाई साबित गर्नुपर्नेमा उनले जोड दिए। उनले विभिन्न जिल्लाबाट काठमाडौं आई संगठनको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका राजधानी केन्द्रित कार्यकर्ताहरूलाई दोहोरो भूमिका निर्वाह गर्न निर्देशन दिए।

कार्यक्षेत्र काठमाडौं भए पनि आ-आफ्नो गृहजिल्ला र स्थानीय तहका जनता, नातागोता तथा आफ्ना मान्छेहरूलाई फोनमार्फत उत्साह भर्ने, पार्टीको व्यापक प्रचार गर्ने र विदेशमा रहेका नेपालीहरूमा समेत पार्टीप्रति आशा जगाउने काममा लाग्न उनले आग्रह गरे। उनले सबै कार्यकर्ताहरूलाई आ–आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्दै संगठन विस्तारमा सक्रिय हुन आह्वान गरेका छन्।

छुटाउनुभयो कि ?