काठमाडाैं। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले पदभार ग्रहण गरेको १०० दिनको अवधि पूरा भएको छ । यस अवधिमा मन्त्रालयले कानुनी सुधार, सेवा प्रवाहमा प्रभावकारिता, सामाजिक संरक्षण, महिला सशक्तीकरण तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार १०० दिनको अवधिमा कानुनी र नीतिगत सुधारतर्फ विशेष सक्रियता देखाइएको छ । जसअन्तर्गत लैङ्गिक हिंसा निवारण सम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार पार्ने प्रक्रिया अघि बढाइएको छ भने मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधनको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा पठाइएको छ । यस्तै, बालबालिका सम्बन्धी ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधनको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । मन्त्रालयले राष्ट्रिय ज्येष्ठ नागरिक नीति, राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि र लैङ्गिक हिंसा निवारणका लागि राष्ट्रिय कार्ययोजनालगायतका नीतिगत कार्यहरूलाई पनि अगाडि बढाएको छ ।
संस्थागत सुधार र सेवा प्रवाहलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन मन्त्रालयका सबै प्रशासनिक कार्यहरू एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गरिनुका साथै मन्त्रालयको वेबसाइटलाई दृष्टिविहीनमैत्री बनाइएको छ । महिला हिंसा, हराएका बालबालिका र बाल हेल्पलाइन सेवालाई २४ सै घण्टा सञ्चालनमा राखिएको छ भने नागरिक गुनासो व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइएको छ ।
सामाजिक संरक्षणका क्षेत्रमा यस अवधिमा विभिन्न उद्धार र राहतका कार्यहरू भएका छन् । जसअन्तर्गत ज्यान जोखिममा रहेका ३० जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ भने ९९ जना सडक बालबालिकाको उद्धार गरिएको छ । हराएका २ हजार ४४० बालबालिकामध्ये २ हजार ४६ जनालाई फेला पारी अभिभावक वा संरक्षण संस्थामा बुझाइएको मन्त्रालयले जनाएको छ । मानव बेचबिखनबाट प्रभावित, हिंसा पीडित महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि पुनस्र्थापना तथा संरक्षण सेवालाई निरन्तरता दिइएको छ । यस्तै, काठमाडौँ उपत्यकामा स्थानान्तरण गरिएका सुकुम्बासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई राहत सामग्री वितरण गरिएको छ र बालबालिकामाथि दुव्र्यवहारका घटनामा तत्काल हस्तक्षेप गरी कानुनी प्रक्रिया अघि बढाइएको छ ।
मन्त्री बादीको नेतृत्वमा महिला उद्यमशीलता प्रवर्द्धन, लैङ्गिक समानता, पहुँचयुक्त पूर्वाधार निर्माण, मानव बेचबिखन नियन्त्रण, सामाजिक कुरीतिविरुद्ध सचेतना, ज्येष्ठ नागरिक सेवा र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन् । साथै सामाजिक सूचना व्यवस्थापन प्रणाली (एसआइएमएस) को विस्तार गरिएको छ ।
मन्त्री बादीले सय दिनको अवधिमा समाज कल्याण परिषद्, राष्ट्रिय बाल अधिकार परिषद्, पशुपति वृद्धाश्रम, बाल सुधार गृह, एसओएस बालग्राम र अटिजम विद्यालयलगायतका विभिन्न संस्थाहरूको स्थलगत अनुगमन गरी सेवा प्रवाह सुधारका लागि आवश्यक निर्देशन दिनुभएको छ । यसका साथै विभिन्न मन्त्रालय, संवैधानिक आयोग, सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग समन्वय र सहकार्य विस्तारका लागि उच्चस्तरीय भेटघाट तथा छलफलहरू गरिएका छन् ।
समग्रमा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय एवं सामाजिक सुरक्षासँग सम्बन्धित सेवालाई थप प्रभावकारी, समावेशी र नतिजामुखी बनाउने दिशामा महत्वपूर्ण प्रगति हासिल भएको मन्त्रालयको निष्कर्ष छ ।