शान्ति सुरक्षा र सुशासन चुस्त बनाउने लक्ष्य: गृहद्वारा ४२ उपसचिवको एकमुष्ट सरुवा

शान्ति सुरक्षा र सुशासन चुस्त बनाउने लक्ष्य: गृहद्वारा ४२ उपसचिवको एकमुष्ट सरुवा

काठमाडाैं। सरकारले देशको प्रशासनिक कार्यसम्पादनलाई थप चुस्त र प्रभावकारी बनाउन गृह प्रशासनमा ठूलो हेरफेर गरेको छ।

गृह मन्त्रालयको शुक्रबारको निर्णयानुसार विभिन्न मन्त्रालय, विभाग, अन्तर्गतका निकाय तथा जिल्ला प्रशासन कार्यालयहरूमा कार्यरत राजपत्रांकित द्वितीय श्रेणीका ४२ जना उपसचिवहरूको एकैसाथ सरुवा गरिएको हो। नियमित प्रशासनिक व्यवस्थापन तथा कार्यक्षमता सुदृढीकरणका लागि यो सरुवा र पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यो व्यापक सरुवासँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीहरू समेत बद्लिएका छन्। शान्ति सुरक्षा कायम राख्ने, नागरिक सेवा प्रवाहलाई गति दिने र स्थानीय प्रशासनलाई सुशासनको मर्म अनुरूप सञ्चालन गर्ने जिम्मेवारीसहित उपसचिवहरूलाई नयाँ कार्यस्थलमा खटाइएको हो।

सरुवा भएका कतिपय उपसचिवहरूलाई विभिन्न जिल्लाको नेतृत्व (प्रजिअ) को कमान्ड सुम्पिएको छ भने जिल्ला प्रशासन कार्यालयहरूमा कार्यरत केही उपसचिवहरूलाई गृह मन्त्रालय वा अन्तर्गतका विभाग र अध्यागमन कार्यालयहरूमा तानिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले हालै आफ्नो १०० दिने कार्यकालका उपलब्धिहरू सार्वजनिक गर्दै शासकीय सुधार र प्रशासनिक चुस्ततालाई मुख्य प्राथमिकतामा राखेको दाबी गरेकै भोलिपल्ट गृह प्रशासनमा यो ठूलो फेरबदल सार्वजनिक भएको हो।

सरुवा भएका ४२ जना उपसचिवहरूको नामावली, उनीहरूको हालको दरबन्दी र नयाँ कार्यस्थलसम्बन्धी विस्तृत सूची गृह मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिसकेको छ। मन्त्रालयले सरुवा भएका सबै अधिकारीहरूलाई ढिलाइ नगरी आ-आफ्नो नयाँ कार्यक्षेत्रमा खटिन र कार्यभार सम्हाल्न समेत निर्देशित गरेको छ।

छुटाउनुभयो कि ?