काठमाडौं। देशका विभिन्न सात विश्वविद्यालयमा खुला प्रतिस्पर्धामार्फत नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बिच नवनियुक्त उपकुलपतिहरूलाई पदको शपथ गराएका हुन्।
प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले शुक्रबार नै त्रिभुवन विश्वविद्यालयसहित सातवटा विश्वविद्यालयका उपकुलपतिहरू नियुक्त गरेका थिए। नवनियुक्त उपकुलपतिहरू सम्बन्धित विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा सिफारिस गरेका उम्मेदवारहरूमध्येबाट चयन भएका हुन्।
मन्त्रालयमा आयोजित शपथ ग्रहण समारोहमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका किसन दत्त भट्ट र मध्यपश्चिम विश्वविद्यालयका राजन सुवालले पदको शपथ लिएका छन्।
त्यसैगरी कृषि तथा वन विश्वविद्यालयका ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयका श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयका देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयका सुजन बाबु मरहट्टाले पनि पद तथा गोपनीयताको शपथ लिएका हुन्। खुला र पारदर्शी प्रक्रियाबाट उपकुलपतिहरूको चयन गरिएकाले यस पटकको नियुक्तिलाई प्राज्ञिक क्षेत्रमा चासोका साथ हेरिएको छ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले नविनतम सोचका साथ विश्वविद्यालयहरूलाई पूर्ण रूपमा निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढङ्गले सञ्चालन गर्न कडा निर्देशन दिए। उनले मुलुकको उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक सुशासनको स्थापना र संस्थागत सुधारमा विशेष ध्यान दिन आग्रह गर्दै राजनीतिक प्रभावभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए।
शपथ लिएलगत्तै नवनियुक्त उपकुलपतिहरूले आ-आफ्नो विश्वविद्यालयको प्रतिष्ठा र विश्वसनीयतालाई थप मजबुत बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरे। खुला प्रतिस्पर्धामार्फत भएको यो ऐतिहासिक नियुक्ति प्रक्रियाले आफूहरूमा जिम्मेवारीबोध र कार्यसम्पादन मनोबल दुवै बढाएको उल्लेख गर्दै उनीहरूले इमानदारिता, पूर्ण पारदर्शिता र परिणाममुखी कार्यशैलीका साथ प्राज्ञिक उन्नयनमा अघि बढ्ने बताएका छन्।