काठमाडौं। संवैधानिक परिषद्ले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ) लाई नियुक्तिका लागि सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी दिने गरी सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले प्रमुख आयुक्तका साथै अन्य दुई जना निर्वाचन आयुक्तको पदका लागि समेत नाम सिफारिस गरेको छ। जसअनुसार रिक्त रहेको निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा (काठमाडौं) र आगामी असार २३ गतेदेखि रिक्त हुन गइरहेको निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) को नाम नियुक्तिका लागि सिफारिस गरिएको छ।
नेपालको संविधान बमोजिम प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदहरूमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने अधिकार संवैधानिक परिषद्लाई रहेको छ। परिषद्बाट सिफारिस भएका यी नामहरू अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिद्वारा नियुक्त हुनेछन्।