काठमाडौं। मुलुकका सात वटा विश्वविद्यालयहरूमा नयाँ उपकुलपति नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार खुला प्रतिस्पर्धाका आधारमा सातै वटा विश्वविद्यालयका उपकुलपतिहरू नियुक्त गरेका हुन्।
नयाँ नियुक्ति अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, र मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल नियुक्त भएका छन्।
यसैगरी, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन्।
यसअघि राजनीतिक भागबण्डाका आधारमा उपकुलपति नियुक्ति गरिने परिपाटीको चौतर्फी आलोचना भएपछि यसपटक सरकारले खुला प्रतिस्पर्धा (मेरिटोक्रेसी) का आधारमा योग्य व्यक्ति छनोट गर्ने प्रक्रिया अगाडि बढाएको थियो।
उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा एउटा विशेष सिफारिस समिति गठन गरिएको थियो। उक्त समितिले आवेदन परेका उम्मेदवारहरूको कार्ययोजना, शैक्षिक पृष्ठभूमि, योग्यता र प्रस्तुतीकरणको मूल्यांकन गरी उत्कृष्ट नामहरू प्रधानमन्त्री एवं कुलपति समक्ष सिफारिस गरेको थियो। सोही समितिको सिफारिस र मापदण्डका आधारमा प्रधानमन्त्री शाहले यो नियुक्ति टुंगाे लगाएका हुन्।
लामो समयदेखि प्रमुख नेतृत्व विहीन हुँदा वा निमित्तको भरमा चल्दा विश्वविद्यालयहरूको प्राज्ञिक तथा प्रशासनिक कार्यतालिका प्रभावित हुँदै आएको थियो।
परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा शैक्षिक क्यालेन्डर कार्यान्वयनमा देखिएका बेथितिलाई सुधार्न नयाँ नेतृत्वका लागि ठूलो चुनौती र अवसर दुवै रहेको छ।
खुला प्रतिस्पर्धाबाट आएका प्राज्ञिक व्यक्तित्वहरूको यो नियुक्तिले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप कम हुने र उच्च शिक्षाको गुणस्तर सुधारमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।