दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल उद्घाटन गरेर काठमाडौं फर्किए हर्क साम्पाङ

दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल  उद्घाटन गरेर काठमाडौं फर्किए हर्क साम्पाङ

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई दार्चुलाको दुम्लिङमा मात्र ८५ दिनमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर राजधानी फर्किएका छन्।

काठमाडौं आइपुगेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले स्थानीय बासिन्दाको तीव्र माग र आवश्यकताका आधारमा पुल निर्माण गरिएको बताए। उनले विकट क्षेत्रका नागरिकलाई राहत दिने उक्त पुलको उद्घाटन गर्न पाउँदा आफूलाई निकै खुसी लागेको उल्लेख गरे।

दार्चुलाको दुम्लिङ क्षेत्र भौगोलिक रूपमा अत्यन्तै विकट रहेको चर्चा गर्दै उनले त्यहाँ सडक र सञ्चार पूर्वाधारको अझै अभाव रहेको औंल्याए। यद्यपि, हाल नेपाली सेनाले सडक स्तरोन्नतिको काम गरिरहेको र दूरसञ्चार सेवा विस्तारका प्रयासहरू भइरहेको जानकारी आफूले पाएको उनले बताए।

महाकालीमा पुल थप्न भारतको सहमति आवश्यक

महाकाली नदी क्षेत्रमा थप पुलहरू निर्माण गर्न भारतको लिखित सहमति आवश्यक पर्ने साम्पाङले स्पष्ट पारे। यस विषयमा परराष्ट्र मन्त्रालयलाई पटक-पटक आग्रह गरिएको जानकारी दिँदै उनले भने, "भारतको लिखित सहमति आएपछि मात्रै त्यस क्षेत्रमा थप पुल बनाउन सकिन्छ।"

यस्तै, तिङ्कर क्षेत्रमा नेपालतर्फ सडक नहुँदा स्थानीय बासिन्दाहरू भारतीय भूभाग प्रयोग गरेर आवतजावत गर्न बाध्य भएको भन्दै उनले नेपाली भूमिमै सडक निर्माण गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने माग गरे।

महँगी नियन्त्रणमा सरकार असफल, साइबर कानुनप्रति आपत्ति

वर्तमान सरकारको कार्यसम्पादनप्रति टिप्पणी गर्दै अध्यक्ष साम्पाङले सरकारले प्रयास गरे जस्तो देखिए पनि त्यसको वास्तविक परिणाम जनताले महसुस गर्न नपाएको दाबी गरे। विशेष गरी महँगी नियन्त्रणका लागि सरकारले अझ बढी प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।

पछिल्लो समय चर्चामा रहेको साइबर कानुन संशोधनको विषयमा बोल्दै उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्ने खालका कानुनहरू लोकतन्त्रको मर्मविपरीत हुने टिप्पणी गरे।

"तथ्य र प्रमाणका आधारमा सरकारको विरोध वा आलोचना गर्न पाउनु नागरिकको लोकतान्त्रिक अधिकार हो," साम्पाङले भने, "विरोध नै गर्न नपाउने गरी नियन्त्रणमुखी कानुन बनाइनु हुँदैन।"

झोलुङ्गे पुल निर्माणको जस (श्रेय) कसले पाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले विकास निर्माण सामूहिक प्रयासबाट मात्र सम्भव हुने धारणा राखे। राम्रो कामको जस र नराम्रो कामको जिम्मेवारी दुवै सबैले बराबर लिनुपर्ने उनको तर्क थियो।

छुटाउनुभयो कि ?