रास्वपाको स्पष्टीकरण : १८ वर्षमुनिका कोही पनि पार्टी सदस्य छैनन्, प्रतिवेदनको 'कच्चा तथ्यांक' मा प्राविधिक त्रुटि

रास्वपाको स्पष्टीकरण : १८ वर्षमुनिका कोही पनि पार्टी सदस्य छैनन्, प्रतिवेदनको 'कच्चा तथ्यांक' मा प्राविधिक त्रुटि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता सम्बन्धी तथ्याङ्कका बारेमा सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन र स्पष्टीकरण दिँदै १८ वर्षभन्दा कम उमेरका कुनै पनि व्यक्ति पार्टीको सदस्य नरहेको स्पष्ट पारेको छ। पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत प्रतिवेदनलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यममा १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको भनी समाचार सम्प्रेषण भएपछि रास्वपाले यसबारे प्राविधिक र प्रशासनिक स्पष्टीकरण दिएको हो।

पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा महाधिवेशनमा प्रस्तुत गरिएको तथ्याङ्क डिजिटल सदस्यता प्रणालीमा रहेका प्रारम्भिक आवेदन विवरणहरूको समष्टिगत विश्लेषण मात्र भएको र यो प्रमाणित तथा अन्तिम रूपमा स्वीकृत सदस्यहरूको आधिकारिक अभिलेख नभएको उल्लेख गरिएको छ।

रास्वपाका अनुसार डिजिटल प्रणालीमा सदस्यताका लागि जोकोहीले आवेदन दिनसक्ने खुला व्यवस्था भए पनि त्यस्तो आवेदन स्वतः सदस्यतामा परिणत हुँदैन। नागरिकता वा अन्य आधिकारिक प्रमाणका आधारमा पूर्ण प्रमाणीकरण भएपछि मात्र सदस्यता स्वीकृत हुने वैधानिक व्यवस्था रहेको पार्टीले जनाएको छ।

प्रारम्भिक आवेदनमा उमेर कम देखिनुमा विशुद्ध प्राविधिक कारणहरू जिम्मेवार रहेको रास्वपाले प्रस्ट पारेको छ। डिजिटल फारम भर्ने क्रममा विक्रम संवत् र इस्वी संवत् (BS/AD) छनोटमा भएको गल्ती, जन्ममिति प्रविष्टि गर्दा भएको टाइपोग्राफिकल त्रुटि र कतिपय आवेदकले जन्ममितिको सट्टा हालकै चालू मिति प्रविष्ट गरेका कारण प्रणालीले उमेर कम देखाएको पाइएको विज्ञप्तिमा भनिएको छ।

यसै क्रममा रास्वपाले हालसम्मको वास्तविक सदस्यता अवस्था पनि सार्वजनिक गरेको छ, जसअनुसार पार्टीको प्रणालीमा दर्ता भएका कुल ५ लाख २३ हजार ४६५ आवेदनमध्ये हालसम्म ३ लाख ९० हजार ११२ जनाको मात्र आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको छ भने बाँकी आवेदनहरू प्रमाणीकरणकै प्रक्रियामा रहेका छन्।

यस विषयलाई गम्भीरतापूर्वक लिँदै रास्वपाले आगामी दिनका लागि विशेष सुधारात्मक कदमहरू चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ। अबदेखि डिजिटल प्रणालीमा १८ वर्षभन्दा कम उमेर देखिने विवरणलाई स्वतः रोक्ने (Block) व्यवस्था मिलाइनेछ भने प्रमाणीकरण भइसकेका अभिलेखहरूको पुनः सघन परीक्षण गरिनेछ। त्यसरी परीक्षण गर्दा १८ वर्षमुनिका कोही व्यक्ति भेटिएमा उनीहरूको सदस्यता तत्काल खारेज गरिने र विक्रम संवत् तथा इस्वी संवत् पात्रो सम्बन्धी अन्योल हटाउन प्रणालीमा प्राविधिक सुधार गरिने रास्वपाले जनाएको छ।

अन्तिम प्रमाणीकरण नहुँदै ‘कच्चा तथ्याङ्क’ महाधिवेशनको प्रतिवेदनमा समावेश हुँदा सार्वजनिक रूपमा भ्रम सिर्जना भएकोमा रास्वपाले दुःख व्यक्त गरेको छ। प्रचलित कानुन र बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्ष पूरा भएका नेपाली नागरिक मात्र राजनीतिक पार्टीको सदस्य हुन पाउने कानुनी व्यवस्थाप्रति आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको रास्वपाले पुनः स्पष्ट पारेको छ।

छुटाउनुभयो कि ?