काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कलाई आधार बनाएर १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको भनी सार्वजनिक भएका समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीले सार्वजनिक भएको तथ्याङ्क अन्तिम रूपमा प्रमाणीकरण भएका वैध सदस्यहरूको नभई डिजिटल प्रणालीमा दर्ता भएका प्रारम्भिक सदस्यता आवेदनहरूको समष्टिगत विश्लेषण मात्र भएको प्रष्ट पारेको छ।
पार्टीले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, बालबालिका सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई पूर्ण रूपमा आत्मसात गरेको उल्लेख गर्दै १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने वा कुनै पनि राजनीतिक गतिविधिमा सहभागी गराउने नीति, अभ्यास वा उद्देश्य आफ्नो नरहेको दृढताका साथ व्यक्त गरेको छ।
रास्वपाका अनुसार डिजिटल सदस्यता प्रणालीमा सदस्यता आवेदन दिनु, त्यसको प्रमाणीकरण हुनु र अन्तिम स्वीकृति पाउनु छुट्टाछुट्टै प्रक्रिया हुन्। एप वा वेबसाइटमार्फत जोसुकैले प्रारम्भिक आवेदन दिन सक्ने भए तापनि नागरिकतालगायतका आधिकारिक कानुनी कागजातका आधारमा उमेर र राष्ट्रियता प्रमाणीकरण भएपछि मात्रै सदस्यता स्वीकृत हुने व्यवस्था रहेको छ।
आवेदन भर्ने क्रममा आवेदक स्वयंले विवरण प्रविष्ट गर्ने भएकाले विक्रम संवत् र ईस्वी संवत् पात्रो छनोटमा भएको त्रुटि, जन्ममिति टाइप गर्दाको गल्ती वा जन्ममितिको सट्टा हालकै मिति राखिएका कारण केही आवेदकहरूको उमेर वास्तविकभन्दा कम देखिन गएको प्रारम्भिक समीक्षाबाट खुलेको पार्टीले जनाएको छ।
हाल रास्वपाको डिजिटल प्रणालीमा कुल ५ लाख २३ हजार ४६५ सदस्यता आवेदन दर्ता भएकोमा ३ लाख ९० हजार ११२ जनाको विवरण नागरिकताका आधारमा प्रमाणीकरण भइसकेको र बाँकी आवेदनहरू प्रमाणीकरणकै चरणमा रहेको जानकारी विज्ञप्तिमा दिइएको छ।
यस घटनालगत्तै पार्टीले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरिसकेको छ। अबदेखि १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीबाटै स्वतः रोक्ने (अटो-ब्लक), प्रमाणीकरण भइसकेका विवरणहरूको पुनः परीक्षण गर्ने, संवत् सम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक व्यवस्था गर्ने तथा बाँकी सबै आवेदनलाई आधिकारिक कागजातका आधारमा पुनः प्रमाणीकरण गर्ने निर्णय गरिएको छ।
पर्याप्त परीक्षण र प्रमाणीकरण नहुँदै प्रारम्भिक आवेदनका कच्चा तथ्याङ्क महाधिवेशनको प्रतिवेदनमा समावेश हुँदा आमनागरिक, सञ्चारमाध्यम र सरोकारवालाहरूमा भ्रम सिर्जना भएको स्वीकार गर्दै रास्वपाले दुःख व्यक्त गरेको छ।
साथै, सम्पूर्ण विवरण पुनः परीक्षण गरी संशोधित तथा अद्यावधिक सदस्यता तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै पार्टीले विधिको शासन, सुशासन, पारदर्शिता तथा प्रचलित कानुनको पूर्ण पालनाप्रति आफू सदैव प्रतिबद्ध रहेको पुनरुद्घोष गरेको छ।