कांग्रेस १५औँ महाधिवेशन तयारी: निर्वाचन समितिको प्रतिनिधिको उपस्थिति बिना जनसम्पर्क समितिको महाधिवेशन अवैध हुने

कांग्रेस १५औँ महाधिवेशन तयारी: निर्वाचन समितिको प्रतिनिधिको उपस्थिति बिना जनसम्पर्क समितिको महाधिवेशन अवैध हुने

काठमाडौं।  नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको अनिवार्य उपस्थितिमा मात्र महाधिवेशन गर्न निर्देशन दिएको छ। वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बुधबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो। पार्टीको विधानसम्मत प्रक्रियालाई कडाइका साथ पालना गराउन निर्वाचन समितिले यो कदम चालेको हो।

बैठकले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले गत २०८२ चैत ११ गते गरेको निर्णयअनुसार आगामी १५औँ महाधिवेशनको पूर्वतयारी स्वरूप विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको महाधिवेशन आगामी २०८३ साल साउन मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने कार्यतालिकालाई पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक निर्देशन जारी गरेको छ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा १४(३) मा जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराउँदै समितिले यो निर्देशन दिएको हो।

नयाँ व्यवस्थाअनुसार विदेशस्थित जनसम्पर्क समितिहरूले महाधिवेशन गराउनुअघि आ-आफ्नो क्षेत्रको सदस्यताको सम्पूर्ण विवरण अनिवार्य रूपमा केन्द्रमा पठाउनुपर्नेछ। उक्त विवरण प्राप्त भएपछि पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट स्वीकृति लिनुपर्ने र सोही स्वीकृतिका आधारमा मात्रै निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउने स्पष्ट पारिएको छ।

महाधिवेशनको मिति तय भएपछि समयमै केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराउन र तोकिएको प्रतिनिधिको उपस्थितिमा मात्र महाधिवेशन सम्पन्न गर्न सबै विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई परिपत्र गर्ने निर्णयसमेत बैठकले गरेको छ। आगामी १५औँ महाधिवेशनको तयारीलाई व्यवस्थित, पारदर्शी र विधानसम्मत बनाउन कांग्रेसले विदेशस्थित आफ्ना संगठनहरूको अधिवेशनलाई निर्धारित प्रक्रिया र कार्यतालिकाअनुसार अघि बढाउने गृहकार्य तीव्र बनाएको छ।

छुटाउनुभयो कि ?