काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित नेताहरूलाई शपथ गराउनुभएको हो। गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा भव्य रूपमा सम्पन्न भएको रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनबाट निर्वाचित भएका ६ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरू यस प्रक्रियामा सहभागी भएका थिए।
शपथ ग्रहणको यस विशेष अवसरमा सभापति लामिछानेले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै घण्टीजडित मायाको चिनो र प्रमाणपत्र समेत वितरण गरिरहनुभएको छ। रास्वपाको यो प्रथम महाधिवेशनले पार्टीको साङ्गठनिक स्वरूप र विधानमा समेत व्यापक परिमार्जन गरेको छ।
संशोधित विधान अनुसार पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय रहने र यसमा १९ जना पदाधिकारी रहने व्यवस्था सुनिश्चित गरिएको छ। महाधिवेशनको निर्वाचन प्रक्रियाबाट खुला तथा विभिन्न समावेशी क्लस्टरअन्तर्गत ९९ जना केन्द्रीय सदस्यहरू प्रत्यक्ष निर्वाचित भएका हुन्।
महाधिवेशनबाट उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम (महिला), महामन्त्रीमा विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरूमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन्।
बाँकी रहेका पदाधिकारीहरू र रिक्त केन्द्रीय सदस्य पदहरूमा भने पार्टी विधानको व्यवस्था बमोजिम सभापति लामिछानेले आगामी दिनमा मनोनयन गर्ने तयारी रहेको छ। महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भएर आएको यस टिमले आजैदेखि विधिवत रूपमा आफ्नो कार्यभार सम्हाल्दै पार्टीको आन्तरिक सङ्गठन र राजनीतिक कार्यदिशालाई थप सबल, गतिशील र व्यवस्थित बनाउँदै लैजाने विश्वास व्यक्त गरिएको छ।