एमालेको निर्वाचन समीक्षा र पुनर्गठन परामर्श अन्तिम चरणमा: प्रतिवेदन लेखन सुरु

एमालेको निर्वाचन समीक्षा र पुनर्गठन परामर्श अन्तिम चरणमा: प्रतिवेदन लेखन सुरु

काठमाडौं।  नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम अन्तिम चरणमा पुगेसँगै प्रतिवेदन लेखनको कार्य प्रारम्भ भएको छ।

पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित कार्यदलले आगामी १९ गतेभित्र बाँकी रहेका तीनवटा समीक्षा तथा परामर्श कार्यक्रम सम्पन्न गर्ने तयारी गरेको छ।

सो अवधिमा आज १७ गते सम्पर्क मञ्च, बिहीबार जनसंगठन र शुक्रबार केन्द्रीय आयोग तथा विभागका प्रमुखहरूसँग परामर्श गरेपछि यस चरणको छलफल पूर्ण रूपमा अन्त्य हुने कार्यदलका एक सदस्यले जानकारी दिएका छन्।

हालसम्म विभिन्न चरणमा सङ्कलन गरिएका सुझाव एवं सिफारिसहरूका आधारमा प्रतिवेदनको खेस्रा (मस्यौदा) उतार्ने काम पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा सुरु भइसकेको छ। यसरी तयार पारिएको प्रतिवेदनलाई आगामी असार २२ गते बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिने बताइएको छ।

अहिलेसम्म सञ्चालन भएका परामर्श बैठकहरूमा सहभागी पार्टीका बुहसङ्ख्यक नेता तथा कार्यकर्ताहरूबीच पार्टी पुनर्गठनको विषयमा व्यापक मतैक्यता देखिएको छ।

कार्यदलका सदस्यका अनुसार हालसम्म प्राप्त भएका सुझावहरूमध्ये करिब ९० प्रतिशत मत पार्टी पुनर्गठनकै पक्षमा आएको छ। यद्यपि, पुनर्गठनलाई कुन ढाँचा र अभ्यासबाट अगाडि बढाउने भन्ने सन्दर्भमा भने नेताहरूबीच फरक-फरक रायहरू सतहमा आएका छन्।

छलफलका क्रममा एकथरि सहभागीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका पहिलो पुस्ताका शीर्ष नेताहरूलाई अभिभावकीय भूमिकामा सीमित राख्नुपर्ने र दोस्रो तथा तेस्रो पुस्ताका नेताहरूलाई कार्यकारी जिम्मेवारी सुम्पिनुपर्ने धारणा राखेका छन्। त्यसैगरी, अर्काथरि सहभागीहरूले भने सिङ्गो केन्द्रीय कमिटीदेखि लिएर पार्टीका सबै तहका कमिटी, निकाय र विभागहरूलाई नै पूर्ण रूपमा पुनर्गठनको प्रक्रियामा लैजानुपर्ने सुझाव दिएका छन्।

कार्यदलले तयार पार्ने अन्तिम प्रतिवेदनमा परामर्शका क्रममा आएका यी सबै प्रकारका फरक राय र दृष्टिकोणहरूलाई समेट्ने प्रयास गरिनेछ। यसका साथै बहुसङ्ख्यक नेता तथा कार्यकर्ताहरूबाट प्राप्त भएका मुख्य सुझावहरूलाई नै मुख्य आधार बनाएर आवश्यक संगठनात्मक सिफारिसहरू गरिने कार्यदलका ती सदस्यले प्रष्ट पारेका छन्।

आगामी असार २२ गते बस्ने कार्यदलको बैठकबाट प्रतिवेदन पारित भएलगत्तै एमाले सचिवालयको बैठक बस्नेछ र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटीको बैठकमा उक्त प्रतिवेदनलाई निर्णयार्थ पेस गरिने कार्यतालिका रहेको छ।

छुटाउनुभयो कि ?