काठमाडौँ। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीभित्र क्रियाशील सदस्यताको विवाद झन् पेचिलो बन्दै गएको छ।
महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गरेर देशभर नयाँ सदस्यता वितरण र अद्यावधिक अभियानलाई तीव्र पारेको कांग्रेसभित्र संस्थापन र इतर समूहबीचको अविश्वासले तयारीमा ठूलो चुनौती थपेको छ। पछिल्ला दिनमा शीर्ष नेतृत्वबीच संवादको प्रयासले केही गति लिए पनि आन्तरिक विवाद समाधान हुन सकेको छैन।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी १६–१९ असोजमा १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्नेगरी कार्यतालिका पारित गरेको थियो। तर, आन्तरिक मतभेदका कारण कार्यतालिका अनुसार काम सम्पन्न हुन सकेको छैन।
वैशाख मसान्तभित्रै सक्ने भनिएको सदस्यता अद्यावधिकको काम संस्थापनइतर समूहको असहमतिका कारण सुरुमा २८ जेठ र त्यसपछि पुनः बढाएर आगामी २० असारसम्म पुर्याइएको छ। नवीकरण नभएका सदस्यहरूका लागि असार २० गतेसम्मको अन्तिम समयसीमा तोकिए पनि इच्छुक सदस्यहरूको विवरण सहज ढङ्गले डिजिटल प्रणालीमा प्रविष्ट हुन नसक्दा तोकिएको समयमा काम सकिनेमा आशंका उब्जिएको छ।
पार्टी सभापति गगन थापाले गत ९ असारमा झापाको एक कार्यक्रममा 'क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने' सार्वजनिक अभिव्यक्ति दिएपछि कांग्रेसभित्रको विवादले उग्र रूप लिएको छ। सभापति थापाको यो अभिव्यक्तिप्रति निवर्तमान संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) का नेताहरू झन् रुष्ट बनेका छन्।
विशेष महाधिवेशनको विपक्षमा रहेको निवर्तमान संस्थापन तथा डा. शेखर कोइराला समूहका धेरैजसो शीर्ष नेता र कार्यकर्ताहरूले हालसम्म आफ्नो सदस्यता अद्यावधिक गरेका छैनन्। १४औँ महाधिवेशनमा ८ लाख ६६ हजार २०२ क्रियाशील सदस्य रहेकोमा पछिल्लो डिजिटल अभियानमा ७ लाख ८२ हजार २०९ सदस्य मात्र योग्य देखिएका छन्। तीमध्ये हालसम्म ५ लाखभन्दा बढीको विवरण प्रविष्ट भइसके पनि करिब १ लाख ७८ हजार सदस्य अझै प्रक्रिया बाहिरै छन्।
पाँच तह पार गर्नुपर्ने झन्झटिलो प्रक्रिया
पार्टीको नयाँ क्रियाशील सदस्यता खुला गरिएको आज एक महिना पूरा भए पनि कतिले सदस्यता माग गरे भन्ने यकिन तथ्यांक केन्द्रमा आइपुगेको छैन। महामन्त्री प्रदीप पौडेल संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले गत जेठ १८ गते नयाँ सदस्यता खोलेको थियो। प्रक्रिया लामो र झन्झटिलो भएका कारण तल्लो तहको विवरण केन्द्रमा आइपुग्न समय लागेको समितिका संयोजक एवं महामन्त्री पौडेलले स्वीकार गर्नुभयो। विधानको व्यवस्था अनुसार नयाँ सदस्यता लिन इच्छुक व्यक्तिले सुरुमा वडामा निवेदन दिनुपर्छ।
त्यसपछि वडा समितिले पालिका, पालिकाले प्रदेशसभा क्षेत्रीय समिति, प्रदेशसभाले प्रतिनिधिसभा क्षेत्रीय समितिमा पठाएर त्यहाँबाट स्वीकृत भएपछि मात्रै केन्द्रमा प्रमाणीकरणका लागि आउने पाँच तहको लामो प्रावधान छ।
इतर पक्षद्वारा सातै प्रदेशमा भेला सम्पन्न
पार्टी भित्रको तीव्र आन्तरिक विवाद र ध्रुवीकरणका बीच निवर्तमान संस्थापन (इतर) पक्षले आफ्ना राष्ट्रिय भेलाहरूलाई आक्रामक रूपमा अघि बढाएको छ। सो समूहले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ, जसअन्तर्गत अन्तिम लुम्बिनी प्रदेशस्तरीय भेला मङ्गलबार दाङको लमहीमा सम्पन्न भयो। विशेष महाधिवेशनका कारण पार्टीबाट टाढिएका वा निराश भएका नेता-कार्यकर्ताहरूलाई समेट्ने, समसामयिक राजनीतिको समीक्षा गर्ने र पार्टीमा बृहत् एकता कायम गर्ने उद्देश्यका साथ यी भेलाहरू आयोजना गरिएको इतर पक्षको दाबी छ। दाङमा भएको भेलालाई गुरु बराल र किशोरसिंह राठोर लगायतका केन्द्रीय नेताहरूले सम्बोधन गर्दै वर्तमान नेतृत्वले सदस्यता विवाद सुल्झाउन नसकेको आरोप लगाएका छन्।