काठमाडौं। सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको गरिमा र अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्दै वैज्ञानिक संरक्षणलाई थप गति दिन तीन जना स्थापित अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई बोर्ड सदस्यमा मनोनयन गरेको छ।
कोषका अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको ऐनमा भएको कानुनी प्रावधानअनुसार संयुक्त अधिराज्य बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा. एरिक डाइनस्र्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई सञ्चालक समितिको सदस्यमा मनोनित गरेकी हुन्।
प्रधानमन्त्री वालेन्द्र शाहले वनमन्त्री चौधरीलाई कोषको अध्यक्षको जिम्मेवारी सुम्पेपछि मन्त्री चौधरीले संस्थाको गरिमालाई उकास्न यो रणनीतिक कदम चालेकी हुन्।
कोषको सञ्चालक समितिमा मनोनित भएका अन्तर्राष्ट्रिय सदस्यहरूमध्ये लर्ड क्यामोस विलियम स्टोनर र डा. एरिक डाइनस्र्टाइन नेपालको प्रकृति संरक्षणको इतिहाससँग निकै पुरानो र गहिरो गरी जोडिएका व्यक्तित्व हुन्। बेलायतको प्रतिष्ठित ‘यूके नेपाल ट्रस्ट’का अध्यक्षसमेत रहेका आठौँ ब्यारोन क्यामोस (विलियम स्टोनर) को परिवारको नेपालको राजनीतिक र कूटनीतिक इतिहाससँग पुरानो ऐतिहासिक सम्बन्ध छ।
लर्ड क्यामोसको परिवार नेपालको संरक्षण क्षेत्रमा विगतदेखि नै सक्रिय रहँदै आएकोमा उनले अहिले पनि ब्रिटिस परोपकारी माध्यमबाट नेपालको जैविक विविधता संरक्षणमा ठूलो आर्थिक तथा नीतिगत योगदान पुर्याइरेका छन्।
त्यस्तै, अर्का सदस्य डा. एरिक डाइनरस्टाइन सन् १९७० र ८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा र पाटेबाघको रैथाने आहारविहारबारे प्रारम्भिक र ऐतिहासिक वैज्ञानिक अनुसन्धान गर्ने मुख्य अनुसन्धानकर्ता हुन्।
उनले विश्व वन्यजन्तु कोषमा २५ वर्षसम्म मुख्य वैज्ञानिकका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै नेपालको संरक्षण क्षेत्रमा कोशेढुङ्गा मानिएको ‘तराई आर्क ल्यान्डस्केप’ को अवधारणा समेत कोरेका थिए। अर्की मनोनित सदस्य अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन प्रा. डा. विन्डी राइटले भने विगत एक दशकदेखि नेपालमा सालक संरक्षण, मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा अस्ट्रेलियन विद्यार्थीहरूलाई समेटेर निरन्तर स्थलगत प्राज्ञिक सहकार्य गर्दै आएकी छन्।
विगत चार दशकभन्दा लामो गौरवशाली इतिहास बोकेको राष्ट्रिय प्रकृति संरक्षण कोषले नेपालमा समुदायमा आधारित संरक्षण र जैविक विविधताको क्षेत्रमा विश्वमै उदाहरणीय काम गर्दै आएको छ। संस्थामा मनोनित गरिएका यी उच्च कदका अन्तर्राष्ट्रिय व्यक्तित्वहरूका कारण कोषको नीतिगत, प्राज्ञिक र नैतिक उन्नयनमा ठूलो रणनीतिक फड्को मार्ने अपेक्षा गरिएको छ।
यसैबीच, वनमन्त्री एवं कोषका अध्यक्ष चौधरीले कोषको गरिमा बढाउने कार्यसँगै संस्थालाई अझ व्यवस्थित बनाउन चाँडै नै कोषको कर्मचारी प्रशासनसम्बन्धी विनियमावली संशोधन गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेकी छन्।