काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) भित्र वर्षौंदेखि जरा गाडेर बसेको विकृति र विसंगति अन्त्यका लागि कडा कदम चालेकी छन्। नार्कको अनुसन्धान कार्यलाई देशभर प्रभावकारी बनाउँदै प्रशासनिक सुशासन कायम गर्न मन्त्री चौधरीले ‘कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएकी छन्।
यो नयाँ मापदण्डले नार्कभित्र लामो समयदेखि कायम केन्द्रीकृत कर्मचारीतन्त्रलाई भत्काउँदै भौगोलिक सन्तुलन कायम गर्ने लक्ष्य राखेको छ, जसका कारण अब वर्षौंदेखि सुगम र काठमाडौँका कार्यालयमा मात्रै बसेर जागिर खाने र सोही स्थानबाट अवकाश पाउने परम्पराको सदाका लागि अन्त्य हुने भएको छ।
लामो समयदेखि राजनीतिक पहुँच र शक्तिको आडमा निश्चित कर्मचारीहरूले काठमाडौँका कार्यालयहरू कब्जा गर्दा दुर्गम क्षेत्रका अनुसन्धान केन्द्रहरूमा कर्मचारीको चरम अभाव रहँदै आएको थियो। यसले गर्दा संस्थाको अनुसन्धान कार्यमा गम्भीर असमानता र भौगोलिक आवश्यकताअनुसारको कार्यसम्पादनमा प्रतिकूल असर परिरहेको मन्त्री चौधरीको निष्कर्ष छ।
यही अवस्थालाई सुधार्न नयाँ व्यवस्थाअनुसार अब कर्मचारीहरूले एउटै ठाउँमा लामो समय बस्न पाउने छैनन् र निश्चित समयावधि पूरा भएपछि उनीहरूको अनिवार्य सरुवा गरिनेछ। समान भौगोलिक वर्गका कार्यालयहरूबीच मात्र सरुवा गर्ने पुरानो अभ्यासलाई पूर्ण रूपमा तोड्दै अब आवश्यकताका आधारमा कर्मचारीहरूलाई दुर्गम क्षेत्रका कार्यालयहरूमा समेत अनिवार्य रूपमा खटाइने व्यवस्था गरिएको छ।
प्रशासनिक शुद्धीकरणका लागि नयाँ मापदण्डमा विभागीय कारबाहीको प्रक्रियामा रहेका कुनै पनि कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी नदिने र जिम्मेवारी तोक्दा पदअनुसारको वरिष्ठतालाई अनिवार्य आधार बनाउने कडा प्रावधान समेत समावेश गरिएको छ। यस ऐतिहासिक मापदण्डको घोषणा गर्दै मन्त्री चौधरीले दुर्गमका कार्यालयमा जनशक्ति अभाव हुने र काठमाडौँमा मात्रै भीड लाग्ने बेथिति कतिपय अवस्थामा कृषि अनुसन्धानका लागि बाधक बनेको उल्लेख गरिन्। उनले अबका दिनमा यस्ता सम्पूर्ण विकृतिको पूर्ण अन्त्य हुने र सोझै किसानको आवश्यकतालाई केन्द्रमा राखेर अनुसन्धान कार्यलाई थप गति दिइने दृढता व्यक्त गरेकी छन्।
मन्त्री चौधरीको यस साहसिक कदमलाई नार्कको कार्यक्षमता अभिवृद्धि गर्ने र सरकारी निकायमा सुशासन स्थापित गर्ने एक महत्त्वपूर्ण तथा दूरगामी निर्णयका रूपमा हेरिएको छ।