प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावर्ती क्षेत्रका नेपाली मारमा परे: भीम रावल

प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावर्ती क्षेत्रका नेपाली मारमा परे: भीम रावल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थामा रहेको देशले आफ्नो राष्ट्रिय हित, सार्वभौमिकता र सीमाको सुरक्षामा दृढ अडान लिनुपर्ने बताएका छन्।

सोमबार नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपालको दक्षिणी सीमा क्षेत्रमा रहेका लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा सुस्ता क्षेत्रको सीमा विवाद अझै समाधान हुन नसकेको उल्लेख गरे।

नेता रावलले सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्नुको सट्टा सरकारका तर्फबाट गैरजिम्मेवार अभिव्यक्तिहरू सार्वजनिक भइरहेको भन्दै प्रधानमन्त्रीको भनाइप्रति कडा असन्तुष्टि समेत व्यक्त गरे।

नेपालको दक्षिणतर्फ ऐतिहासिक रूपमै लिम्पियाधुरा, लिपुलेक र कालापानीमा वैदेशिक अतिक्रमण रहेको तथ्य औंल्याउँदै नेता रावलले सुस्ता क्षेत्रका स्थानीय बासिन्दाहरूले भोग्नुपरेको पीडा कार्यक्रममा सुनाए। ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सुस्तालगायतका सीमावर्ती क्षेत्रमा बस्ने नेपाली नागरिकहरू दिनदिनै थप अप्ठ्यारो र असुरक्षामा परेको उनको भनाइ थियो।

राष्ट्रको कार्यकारी प्रमुखबाटै आफ्नै भूमि रक्षाका लागि लडिरहेका सीमा क्षेत्रका नागरिकको मनोबल गिराउने र छिमेकीको अतिक्रमणलाई बल पुग्ने गरी यस्ता टिप्पणी आउनु दुःखद भएको रावलले बताए।

नेपाल र भारतबीच सुस्ता तथा कालापानी क्षेत्रको सीमा विवाद दशकौँदेखि थाती रहँदै आएको छ भने नेपालले सन् २०२० मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि यो विषय थप चर्चामा छ।

यस्तो संवेनदशील घडीमा राज्यका उच्च अधिकारीहरूले राष्ट्रिय अखण्डता र सीमा क्षेत्रका नागरिकको सुरक्षालाई केन्द्रमा राखेर मात्र अभिव्यक्ति दिनुपर्ने र स्पष्ट कूटनीतिक संवादमार्फत मिचिएका भूमि फिर्ता ल्याउनुपर्नेमा नेता रावलले जोड दिए।

छुटाउनुभयो कि ?