किसानलाई समयमै मल, बीउ र उचित मूल्यको ग्यारेन्टी गरियोस्: एमाले महासचिव पोखरेल

किसानलाई समयमै मल, बीउ र उचित मूल्यको ग्यारेन्टी गरियोस्: एमाले महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले किसानहरूलाई करोडौँको सस्तो अनुदान बाँड्ने आश्वासन दिनुको साटो समयमै मल, उन्नत बीउ र उनीहरूले उत्पादन गरेको वस्तुको उचित मूल्यको ग्यारेन्टी गर्न जोडदार माग गरेका छन्।

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै महासचिव पोखरेलले नेपालको कृषि क्षेत्रमा राज्यको वास्तविक प्राथमिकता दिनानुदिन सङ्कुचित बन्दै गएको गम्भीर आरोप लगाएका हुन्।

यस वर्ष अनियमित वर्षा र खडेरीको उच्च सम्भावना रहेको औँल्याउँदै उनले किसानहरूलाई सम्भावित ठुलो प्राकृतिक र आर्थिक नोक्सानीबाट जोगाउनका लागि सरकारकै विशेष अग्रसरतामा कृषि बिमाको पूर्ण सुनिश्चितता गरिनुपर्नेमा जोड दिए।

सरकारले हालै कृषि क्षेत्रमा २ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने व्यावसायिक फर्महरूलाई आकर्षक अनुदान दिने घोषणा गरेको नीतिप्रति कडा लक्षित गर्दै महासचिव पोखरेलले यस्तो ठुलो लगानी केन्द्रित नीतिले ग्रामीण क्षेत्रका वास्तविक र सीमान्तकृत किसानलाई कतै पनि नछुने स्पष्ट पारेका छन्।

व्यावसायिकता र आधुनिकीकरणका लागि ठुलो लगानीमा अनुदान दिनु आफैँमा नराम्रो कदम नभए तापनि मुख्य प्रश्न आम नेपाली किसानको आर्थिक हैसियत त्यति ठुलो लगानी गर्न सक्ने खालको छ कि छैन भन्ने रहेको उनले आफ्नो सन्देशमा प्रश्न उठाएका छन्। बहुसङ्ख्यक साना र मझौला किसानको पहुँच र हैसियतभन्दा निकै माथि उठेर गरिएको यस्तो सरकारी घोषणाले खेतमा वास्तविक हलो जोत्ने र पसिना बगाउने किसानलाई कुनै सकारात्मक प्रभाव नपार्ने उनको भनाइ छ।

भौतिक रूपमा संसारले जतिसुकै आर्थिक र प्राविधिक समृद्धि हासिल गरे पनि मानवजीवनका लागि खाद्यान्नको आधारभूत महत्त्व कहिल्यै नघट्ने तर्क गर्दै महासचिव पोखरेलले नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि क्षेत्र र यसमा अहोरात्र खट्ने बहुसङ्ख्यक मझौला तथा साना किसानहरू अझै पनि राज्यको वास्तविक प्राथमिकतामा पर्न नसक्नु निकै विडम्बनापूर्ण रहेको बताए।

सरकारले सस्तो लोकप्रियता कमाउनका लागि ठुला-ठुला अनुदानका गफ गर्ने तर किसानले धान रोप्ने मुख्य बेलैमा रासायनिक मल र उन्नत बीउ नपाउने पुरानो अवस्थाको पूर्ण अन्त्य नभएसम्म कृषिमा आत्मनिर्भरता र समृद्धिको नारा केवल राजनीतिक गफमा मात्र सीमित हुने उनले उल्लेख गरेका छन्।

छुटाउनुभयो कि ?