काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै अन्नदाता किसानप्रति उच्च सम्मान प्रकट गरेका छन्।
नेपाल कृषिप्रधान देश भएकाले कृषि क्षेत्र हाम्रो सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार रहेको उनले बताएका छन्। सभापति थापाले असार १५ केवल धान रोपाइँको दिन मात्र नभएर नेपाली किसानको अथक श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको उल्लेख गरे। खेतमा रोपिने धानका प्रत्येक बिरुवासँग किसानका सपना, परिवारको भान्सा र समग्र राष्ट्रको समृद्धि जोडिएको उनको भनाइ छ।
उनले नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको स्मरण गराउँदै धानको उत्पादकत्व वृद्धि गर्नु केवल कृषि कर्म मात्र नभई नागरिकको जीवन सुरक्षा र संविधानको मर्म कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए।
थापाले आफ्नो शुभकामना सन्देशमा हरेक वर्ष किसानहरूले बीउ, मल, सिँचाइ तथा उत्पादनको उचित मूल्य नपाएर सङ्घर्ष गर्नुपरेको तीतो यथार्थलाई औँल्याएका छन्। साथै नेपालको धान खेती अझै पनि ठुलो मात्रामा वर्षा र आकासे पानीमा निर्भर रहनुपरेको उल्लेख गर्दै जलवायु संकटले कृषि क्षेत्रमा थप नयाँ चुनौतीहरू सिर्जना गरेको तर्फ उनले ध्यानाकर्षण गराए।
यस वर्षको मूल नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ लाई स्मरण गर्दै सभापति थापाले मौसमअनुकूल र वातावरणमैत्री कृषि प्रविधिको प्रवर्धन गर्नु आजको मुख्य आवश्यकता भएको बताएका छन्।
यस्तो आधुनिक प्रविधिको विकास र प्रयोगले प्रतिकूल मौसमका बीच पनि उत्पादन बढाउन सहयोग पुग्ने र अर्बौँको चामल आयातमा रहेको परनिर्भरता घटाउँदै देशको खाद्य सम्प्रभुता सुदृढ हुने विश्वास उनले व्यक्त गरे।
यसका लागि देशमा सिँचाइ सुविधाको व्यापक विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउबिजन, समयमै गुणस्तरीय मलको आपूर्ति, भण्डारण क्षमताको विकास तथा धानको उचित न्यूनतम समर्थन मूल्यको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिएका छन्। किसानको श्रम र पसिनालाई सम्मान गर्दै कृषिलाई समाजमा सम्मानित, मर्यादित र आकर्षक पेसाका रूपमा विकास गर्न राज्यका सरोकारवाला निकाय र सबै पक्ष एकजुट हुनुपर्ने उनको भनाइ छ।