चुनावी धक्कापछि कम्युनिष्ट नेताहरूको साझा रटान: संकट टार्न फेरि वाम एकताको बहस

चुनावी धक्कापछि कम्युनिष्ट नेताहरूको साझा रटान: संकट टार्न फेरि वाम एकताको बहस

काठमाडाैं। निर्वाचनको परिणामले शक्ति र जनमत कमजोर बनाएपछि नेपालका कम्युनिष्ट घटकहरू फेरि वाम एकताको पुरानै बहसमा फर्किएका छन्। विगतमा झण्डै दुईतिहाइको बलियो जनमत पाउँदा समेत आपसी कलहका कारण सत्ता र सङ्गठन टिकाउन नसकेका कम्युनिष्ट नेताहरू अहिले रक्षात्मक अवस्थामा पुगेपछि फेरि एकताको रटान लगाउन थालेका हुन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपालका चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालले एउटै मञ्चमा उभिएर वामपन्थी एकता र सहकार्यको अपरिहार्यता औँल्याएका छन्।

कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने पूर्वराष्ट्रपतिको आग्रह
 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा उभिएको उल्लेख गरिन्। उनले जनताबाट निरन्तर माया र समर्थन पाएको यो आन्दोलनलाई अझ प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन गम्भीर आत्ममन्थन आवश्यक रहेको बताइन्।

युवा पुस्ताका आकाङ्क्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन र उत्पादनमुखी अर्थतन्त्रका विषयमा नयाँ दृष्टिकोण विकास गरी त्यसको व्यावहारिक कार्यान्वयन गर्नसके मात्र कम्युनिष्ट आन्दोलन सुदृढ र लोकप्रिय हुने उनको भनाइ थियो।

समयको थप्पड र दुर्घटनाको चेतावनी
 

कार्यक्रममा नेताहरूले विभाजित नभई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। नेकपाका नेता झलनाथ खनालले समयले हिर्काएपछि अहिले बाध्यात्मक रूपमा एकताको आवश्यकता महसुस भएको टिप्पणी गरे। उनले दुई ठूला कम्युनिष्ट पार्टी एकै ठाउँमा भएको भए निर्वाचनमा यस्तो बिजोकपूर्ण हार व्यहोर्नु नपर्ने भन्दै अब दीर्घकालीन एकताको जग बसाल्नुपर्ने बताए।

नेकपाका अर्का नेता माधवकुमार नेपालले जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसक्दा र आफैँभित्रका विकृतिहरू नलुकाउँदा यो अवस्था आएको भन्दै गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले केवल कुरा गरेर मात्र चिउरा नभिज्ने भन्दै यथार्थको धरातलमा टेकेर मिल्न सक्ने मुद्दामा मिल्नुपर्ने विचार राखे।

यसैगरी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालबाट कम्युनिष्ट प्रभाव सिध्याउन विश्वभरका प्रतिक्रियावादी लागिपरेको दाबी गर्दै ढिलो नगरी वामपन्थी एकता नगरे ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिए।

परिस्थिति फेरिएकाले आफूहरू पनि फेरिनुपर्ने उहाँको भनाइ थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अहिले समाजवाद निर्माण गर्नेभन्दा पनि लोकतन्त्र सिध्याउन भदौ २३ र २४ गते रचिएको प्रतिगामी षड्यन्त्रलाई पराजित गर्नु मुख्य कार्यभार रहेको बताए। उनले प्रतिगमनलाई पराजित गर्न सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको उल्लेख गरे।

संकटका बेला एकता, शक्ति पाएपछि विभाजनको चक्र
 

नेताहरूले मञ्चबाट एकताको बाँसुरी बजाए पनि राजनीतिक विश्लेषकहरूले भने यसलाई हालैको चुनावी पराजय र सत्ता गुम्नुको छटपटीका रूपमा लिएका छन्। लामो समय मुलुकको राजनीतिमा प्रभावशाली भूमिकामा रहेका एमाले र माओवादी केन्द्र गत निर्वाचनमा नराम्ररी खुम्चिएका छन्।

हाल प्रतिनिधिसभामा एमालेसँग २५ र माओवादी केन्द्रसँग १७ सिट मात्र सुरक्षित छ। नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुईतिहाइ बहुमत हासिल गर्दै सत्ताको बागडोर सम्हालेपछि परम्परागत वाम शक्तिहरू पूर्ण रूपमा किनारा लागेका छन्।

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा सङ्कट आइपर्दा एकजुट हुने र शक्ति प्राप्त गरेपछि व्यक्तिगत महत्त्वाकाङ्क्षाका कारण पुनः विभाजित हुने चक्र दोहोरिँदै आएको छ।

यसअघि २०७४ सालको निर्वाचनपछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको दुईतिहाइ सरकार पनि नेताहरूको आपसी अविश्वास र शक्ति सङ्घर्षका कारण तीन वर्षसमेत टिक्न सकेन र अन्ततः २०७७ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै विभाजित भयो। अहिले फेरि तिनै नेताहरू पुरानै गल्ती दोहोर्‍याउँदै नयाँ परिवेशमा एकताको रटानमा लागेका छन्।

छुटाउनुभयो कि ?