काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका दुई ठूलो कम्युनिस्ट पार्टी एक नहुँदा निर्वाचनमा लज्जास्पद हार व्यहोरेको बताएका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका सन्दर्भमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
उनले एमाले र नेकपाले चुनावअघि नै कार्यगत एकता गरेको भए करिब १ सय सिट आउने जिकिर गरे ।
‘भर्खरै भएको चुनावमा नेपालको वामपन्थी आन्दोलनले जुन सर्मनाक पराजय भोग्नुपर्यो, यदी यिनै दुईवटा दलमात्रै निर्वाचनभन्दा अगाडि हामीहरू कार्यगत एकता गरेको भए, तथ्यांक एकपटक सम्झना गरौं त नेपाली कम्युनिस्ट पार्टीले १७, नेकपा एमालेले २५ दुईवटा जोड्दा ४२ सिट । यो दुईवटा जुध्दा हामीले ३२ सिट हामीले हरायौं । त्यो ३२ पनि हाम्रै हुन्थ्यो । त्यो दुईवटा जोड्दा ७४ हुन्थ्यो । दुईवटाबीच एकता भएको भए त्यो मल्टिप्लाई हुन्थ्यो । करिब १ सय सिट वामपन्थीको हुन्थ्यो,’ उनले भने ।