काठमाडौं। नेपालको कम्युनिस्ट आन्दोलनका शीर्ष नेताहरू लामो समयपछि एउटै सार्वजनिक मञ्चमा सँगै देखिएका छन्।
जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको विशेष विचार गोष्ठीमा प्रमुख वामपन्थी दलका शीर्ष नेताहरू एकै ठाउँमा सहभागी भएका हुन्।
समारोहमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपाका सह-संयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरू अतिथि र वक्ताका रूपमा उपस्थित रहेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहेको उक्त समारोहमा 'नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी' शीर्षकमा विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समेत गरिएको छ।
पछिल्लो राजनीतिक उतारचढाव र दलहरूबीच बढेको दुरीका बीच कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार एवं जनताको बहुदलीय जनवाद (जबज) का प्रवर्तक मदन भण्डारीको स्मृति दिवसले शीर्ष नेताहरूलाई एउटै मञ्चमा संवाद गर्ने र साझा धारणा राख्ने अवसर जुराएको छ।
यस कार्यक्रमलाई राजनीतिक वृत्तमा वामपन्थी दलहरूबीचको सम्भावित सहकार्य र संवादको सुरुवातका रूपमा समेत अर्थपूर्ण रूपमा हेरिएको छ।