काठमाडाैं। पश्चिम एसियामा भर्खरै लागू गरिएको युद्धविराम सम्झौता उल्लंघन भएसँगै अमेरिका र इरानबीच फेरि प्रत्यक्ष सैन्य टकराव सुरु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार इरानका विभिन्न सैन्य पूर्वाधारहरूलाई निशाना बनाउँदै थप हवाई आक्रमण गरेको छ।
यसअघि शुक्रबार भएको अमेरिकी कारबाहीपछि इरानलाई युद्धविराम सम्झौता पालना गर्ने अवसर दिइएको भए पनि इरानले त्यसको बेवास्ता गरेको अमेरिकाको दाबी छ।
अमेरिकाका अनुसार इरानले शनिबार बिहान स्थानीय समयअनुसार करिब ४:३० बजे एकतर्फी रूपमा घातक ड्रोन प्रहार गरी होर्मुज जलडमरूमध्य नजिकै गुडिरहेको पानामाको झण्डा अंकित तेलवाहक ट्याङ्करलाई निशाना बनाएको थियो। दुई करोड ब्यारेल भन्दा बढी कच्चा तेल बोकेको उक्त व्यावसायिक जहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले प्रतिरक्षात्मक कदम चालेको हो।
सेन्टकमले इरानको सैन्य निगरानी पूर्वाधार, सञ्चार तथा हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र र समुद्री सुरुङ (माइन) बिछ्याउने सैन्य क्षमता भएका संरचनाहरूमाथि लक्षित गरी शक्तिशाली प्रहार गरिएको जनाएको छ। साथै, अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको सुरक्षाका लागि अमेरिकी सेना पूर्ण रूपमा सतर्क र थप कारबाहीका लागि तयार रहेको सेन्टकमले स्पष्ट पारेको छ।
अमेरिकी आक्रमणको जवाफमा इरानले पनि कडा चेतावनी दिएको छ। इरानको खाताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम अलफिकारले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले आफ्नो सार्वभौमिकतामाथि प्रहार गरेको आरोप लगाउँदै अब समीकरण बदल्ने गरी व्यावहारिक जवाफ दिने चेतावनी दिएका छन्।
उनले अमेरिकाले गलत आकलन गरेको र इरानको धैर्यता समाप्त भइसकेको उल्लेख गर्दै अबका केही घण्टाले इरानी शक्तिको परिचय दिने र यसका लागि अमेरिकालाई 'लामो र अन्त्यहीन रात' को तयारी गर्न धम्की दिएका छन्।
यसैबीच, यो द्वन्द्वमा छिमेकी राष्ट्र बहराइन पनि तानिएको छ। बहराइनले पनि शनिबार इरानले आफ्नो भूमिमा धेरै ड्रोन प्रहार गरेको गम्भीर आरोप लगाएको छ। बहराइनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानी कदम आफ्नो सार्वभौमिकतामाथिको ठाडो उल्लंघन भएको र यसले क्षेत्रीय शान्ति तथा स्थायित्व कायम गर्ने प्रयासलाई गम्भीर धक्का पुर्याएको बताएको छ।
पश्चिम एसियामा द्वन्द्व व्यवस्थापनका लागि गरिएको युद्धविराम प्रयासपछि अमेरिका र इरानबीच भएको यो पहिलो प्रत्यक्ष सैन्य मुठभेडले यस क्षेत्रमा पुनः ठूलो युद्धको खतरा बढाएको छ।