काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै उम्मेदवार पूजा बाँस्तोलाले कानुनी उपचारका लागि सर्वोच्च अदालतमा रिट दायर गर्ने घोषणा गरेकी छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम त्रुटिपूर्ण रहेको र आफूभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई निर्वाचित घोषणा गरिएको दाबी गर्दै उहाँले न्यायालयको ढोका ढकढक्याउन लागेकी हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै बाँस्तोलाले स्थापित विधि, प्रक्रिया र मापदण्डविपरीत आफूलाई विजयी सूचीबाट बाहिर राखिएको गम्भीर आरोप लगाएकी छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश भूगोलतर्फको केन्द्रीय सदस्य निर्वाचनमा आफूले ९१३ मत प्राप्त गरेको बाँस्तोलाको भनाइ छ। उक्त मत संख्याका आधारमा आफू महिलातर्फ शीर्ष दुई र खुलातर्फ शीर्ष पाँचभित्र पर्ने भएकाले मत परिणामअनुसार स्वतः निर्वाचित हुनुपर्ने उनको दाबी छ।
उनले आफूलाई विश्वास गरेर मतदान गर्ने प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै मतको सहि कदर नभएकाले न्यायका लागि अगाडि बढ्नुपरेको स्पष्ट पारेकी छन्। यो लडाइँ व्यक्तिगत पद, जित वा हारको मात्र नभई समग्र लोकतान्त्रिक पद्धति, सुशासन र संस्थागत न्यायसँग जोडिएको उनले उल्लेख गरेकी छन्।
लोकतन्त्रको वास्तविक बल परिणाममा मात्र नभएर निर्वाचन प्रक्रियाको विश्वसनीयतामा रहने भन्दै उनले प्रक्रिया निष्पक्ष भए मात्र हार्नेले पनि सम्मानपूर्वक परिणाम स्वीकार गर्न सक्ने धारणा राखेकी छन्।
यसअघि नै आफूले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता गराइसकेको भए पनि त्यहाँबाट चित्तबुझ्दो जवाफ नआएको बाँस्तोलाले बताएकी छन्।
उल्टै पार्टीभित्रै यो विषयलाई दबाउन खोजिएको अनुभव भएपछि बाध्य भएर सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णयमा पुगेको उहाँको भनाइ छ। आफ्नो यो सङ्घर्ष व्यक्तिगत हितका लागि नभई आफूलाई मत दिने ९१३ महाधिवेशन प्रतिनिधिको मतको सम्मान, सही प्रक्रिया, पारदर्शिता र आन्तरिक लोकतन्त्रको रक्षाका लागि भएको उनले स्पष्ट पारिन्।
पदभन्दा पद्धति सधैँ ठूलो हुने उल्लेख गर्दै बाँस्तोलाले न्याय र विधिको पक्षमा आफू अन्तिमसम्म उभिने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्। रास्वपाको पहिलो महाधिवेशन सकिएलगत्तै आन्तरिक निर्वाचनलाई लिएर अदालतसम्म मुद्दा पुग्ने स्थिति सिर्जना हुनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।