चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणको पदाधिकारी मनोनयन प्रक्रिया सुरु भएको छ। यसै क्रममा पार्टीको महत्त्वपूर्ण उपसभापति पदका लागि नवनिर्वाचित केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
वाग्लेको उम्मेदवारीलाई रास्वपाका अर्का नवनिर्वाचित केन्द्रीय सदस्य एवं प्रभावशाली नेता बिराजभक्त श्रेष्ठले प्रस्ताव गरेका छन्। यसअघि श्रेष्ठ आफैँ पनि उपसभापति पदको बलियो आकांक्षीका रूपमा हेरिएका थिए।
तर, महाधिवेशनको बन्द सत्र र आन्तरिक समीकरणमा आएको बदलाबसँगै श्रेष्ठ आफैँ पछि हट्दै वाग्लेको प्रस्तावक बन्ने निर्णयमा पुगेका हुन्। नयाँ नेतृत्व र पदाधिकारी चयनका लागि निर्वाचन कार्यतालिका अनुसार अहिले मनोनयन दर्ता लगायतका प्राविधिक प्रक्रियाहरू द्रुत गतिमा अघि बढिरहेका छन्।